कोरला नाकामा सशस्त्रको बिओपी स्थापना हुने

निरज थकाली
ठिनी (मुस्ताङ), मंगलबार मङसिर १० गते । मुस्ताङ स्थित चिनीया सिमा कोरला नाकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी)स्थापना हुने भएको छ ।
कोरला नाकाको सिमा सुरक्षाका लागि लोमान्थाङ गाउँपालिका–१ नेचुङमा बिओपी स्थापना गर्न लागिएको हो । जिल्ला सुरक्षा समितिको बैठकले मंसिर महिनाभित्र नेचुङमा बिओपी स्थापना गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिनुभयो ।

प्रहरी निरिक्षकको नेतृत्वमा ३५ जना शसस्त्र प्रहरीको टाली खटिनेछ । स्थायी पूर्वाधार तयार नहुँदासम्म शसस्त्र प्रहरीको टोली नेचुङ भन्सार कार्यालयको भवनमा बस्नेछन् । बिओपीको भवन निर्माणका लागि ३३ रोपनी जग्गा व्यवस्थापन गरेर भवन निर्माणका लागि १ करोड बजेट समेत बिनियोजन भएको छ ।

भवन मर्मत गर्न लोमान्थाङ गाउँपालिकाले १५ लाख बिनियोजन गरेको छ । हाल नेचुङमा नेपाल प्रहरीको सिमा प्रहरी चौकी छ । शसस्त्र प्रहरीको बिओपी स्थापना भएपछि कोरला नाका सञ्चालनका लागि सुरक्षाको वातावरण निर्माण हुने प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताउनुभयो ।

कोरला नाकादेखि २६ किलोमिटर नेपालतर्फ पर्ने लोमान्थाङमा एक हजार २७२ रोपनी जग्गा व्यवस्थापन गरि गत वर्ष नेपाली सेनाको क्याम्प राखिएको थियो । नाका सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीको क्याम्प अहिलेसम्म सदरमुकाम जोमसोममै छ ।

सांसद तुलाचनका अनुसार कोरला नाकाको दशगजा नजिकै नेपालतर्फ क्वारेन्टाइन भवन निर्माण गर्न एक हजार रोपनी जग्गाको व्यवस्थापन गरिएको छ । भवन निर्माणका लागि सम्बद्ध मन्त्रालयमा पहल गरिएको सांसद तुलाचनले बताउनुभयो ।

कोरला नाका सञ्चालनका विषयमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको चिन भ्रमणका क्रममा सम्झौता भएको थियो । वि।स २०३२ सालमा सुरु भएको कोरला नाका खम्पा बिद्रोहपछि चिनीया पक्षले बन्द गरेको थियो । हाल वर्षमा दुई पटक ब्यापार मेलाको समयमा मात्र नाका खुल्ने गरेको छ ।

कोरला नाका जोड्ने १८६ किलोमिटर दुरीको बेनी–जोमसोम–कोरला सडक स्तरोन्नतिका लागि २०७३ देखि ११ वटा प्याकेजमा आयोजना सञ्चालन भएको छ । सडक विस्तार, कालोपत्रे र मोटरेबल पुल निर्माणको काम भैरहेको छ ।

११ वटा प्याकेज मध्य १८ किलोमिटर दुरीको छोसेर–कोरला खण्डको सडक स्तरोन्नतिको काम मात्र सकिएको छ । जोमसोम–छुसाङ खण्ड अन्तिम चरणमा पुगेको छ भने बेनी–नारच्याङ पुल र चराङ–छोसेर खण्डको काम सबैभन्दा सुस्त छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार