साउदी जेलमा रहेका निउरेलाई घर फिर्ता गर्न आर्थिक सहयोग संकलन

म्याग्दी ,शुक्रबार मंसिर १३ गते । हत्या आरोपमा साउदीको जेलमा रहेका म्याग्दी मालिका गाउँपालिका–६ दिच्यामका राजकुमार निउरेको घर फिर्तीका लागि आर्थिक संकलन सुरु गरिएको छ । बेनीमा शुक्रबार घरदैलो गरेर आर्थिक संकलन गरिएको हो । २०६८ जेठ २ गते साउदी अरबमा पुगेका निउरे मोरङका कमल वस्तीको हत्याको आरोपमा तोकिएको पाँचबर्षे सजायको कैद भुक्तान गरेपनि आवश्यक कागजात र मृतकका आफन्तले माग गरेको ब्लड मनी (क्षतीपूर्ति)तिर्न नसक्दा जेलभित्रै छन् ।

निउरेले कम्पनीमा कार्यरत साथीहरू बिच झगडा भएपछि गम्भीर घाईते अवस्थामा रहेको वस्तीलाई उपचारका लागि अस्पतालमा लैजाने क्रममा फिंगर प्रिन्टलाई आधार मानेर निउरेलाई प्रहरीले हत्यामा संलग्न रहेको आरोपसँगै मुद्धा दर्ता गरेपछि जेलमा बस्नुपरेको हो ।
वस्तीका आफन्तले बीस लाख रुपैयाँ बल्ड मनि मागेका छन् ।

उनिहरुले बल्ड मनि पाएपछि निउरे नेपाल फर्कने कानुनी बाटो खुल्ने भएको छ । निउरेको घरपरिवारको कमजोर आर्थिक अवस्थाका कारण स्वदेश तथा विदेशमा रहेका म्याग्देलीहरुले आर्थिक सहयोग जुटाउन अभियान चलाएका छन् । बेनी बजारमा बसोबास गर्ने पश्चिम म्याग्दीका बासिन्दाहरुको सहभागितामा घरदैलो गरिएको थियो । घरदैलोबाट ६३ हजार ६७१ रुपैयाँ संकलन भएको अभियानमा सहभागि नेत्रराज सुवेदीले जानकारी दिए। न्यु संगम टे«डर्सका सञ्चालक सुरेन्द्रराज शर्माले ११ हजार १११ रुपैयाँ सहयोग गरेका थिए ।

किरन न्यौपानेको संयोजकत्वमा सञ्चालन भएको अभियानमा संबिधानसभा सदस्य नवराज शर्मा, पश्चिम दरवाङ सहकारीका अध्यक्ष सुरेन्द्रराज शर्मा, लोकदिप सहकारीका प्रबन्धक नेत्रराज सुवेदी लगायत युवा युवतिहरुको सहभागिता थियो ।निउरेको घरफिर्तीका लागि सहयोग जुटाउन वडा अध्यक्ष सन्तोष सुवेदीको नेतृत्वमा दरवाङमा पनि अभियान सञ्चालन भएको छ । वडा अध्यक्ष सुवेदीले व्यक्तिगत रुपमा पाँच हजार ५५५ रुपैयाँ सहयोग गरेर अभियान सुरुवात गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार