शान्ति कोषका संरक्षक सदस्य थापा दम्पत्तीलाई स्वागत तथा सम्मान

बेनी,शनिबार मंसिर १४ गते । विपन्न म्याग्देलीको उपचारमा सघाउदै आएको परोपराकी संस्था ओमकुमारी शान्ति कोषले शुक्रबार संरक्षक सदस्यलाई बेनीमा स्वागत तथा सम्मान गरेको छ । संस्थाको बिधान अनुसार व्यक्तिगत रुपमा दुई लाख रुपैयाँ भन्दा बढी सहयोगको घोषणा गर्नुभएका धवलागिरी गाउँपालिका–७ धारापानी घर भई हाल हङकङमा बस्दै आउनुभएका ज्ञानबहादुर थापा र उहाँकी श्रीमती सुमित्रालाई सम्मान गरिएको हो ।

मोना हङकङका पूर्व कोषाध्यक्ष थापाले कोषले स्थापना गर्न लागेको डेढ करोड रुपैयाँको अक्षयकोषका लागि रकम जुटाउन हङकङमा आयोजना गरेको कार्यक्रममा हङकङबाट सबैभन्दा बढी व्यक्तिगत रुपमा आफूले सहयोग गर्ने घोषणा गर्नुभएको थियो ।

कोषका अध्यक्ष राजेश शाक्य, उपाध्यक्ष हरिकृष्ण गौतम, खम थापा, सचिव लोकेश पुन, कोषाध्यक्ष बिनय श्रेष्ठ लगायत पदाधीकारी र सदस्यहरुले स्वागत गर्नुभएको थियो । कोषमा व्यक्तिगत दुई लाख र संस्थागत तीन लाख रुपैयाँ सहयोग गरेर संरक्षक सदस्य बन्नेको संख्या करिब पचास जना पुगेको छ ।

हाइपो पलास्टिक एनिमिया रोगबाट थलिएकी बेनी नगरपालिका–४ की ओमकुमारी पुन शान्तिको स्मृतिमा स्थापित कोषले एक सय जना भन्दा बढी जटिल रोगबाट थलिएका बिरामीलाई एक करोड रुपैयाँ बढी सहयोग जुटाएर सहयोग गरेको छ ।

जटिल रोगले थलिएका म्याग्देलीको उपचारमा सघाउने उद्देश्यले कोषले डेढ करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने अभियान चलाएको छ । पाँच हजार ५०० रुपैयाँ शूल्क तिरेर आठ सय जना भन्दा बढी कोषको आजिवन सदस्य बनेका छन् ।

कोषका सदस्य सन्दिप खत्रीको सञ्चालन, उपाध्यक्ष हरिकृष्ण गौतमको स्वागत र अध्यक्ष राजेश शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा सहयोगदाता थापाले कोषको पारदर्शी र परोपकारी कामबाट प्रभावित भएको बताउनुभयो । पत्रकार घनश्याम खड्का र ठाकुर आचार्यले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार