थम्मन थापा
बागलुङ,विहिबार पौष ३ गते ।
कृषि उत्पादन निकै राम्रो छ, किसानहरु निकै मेहनत गर्छन तर कृषि जन्य बस्तुहरु यातायातको असुविधाले पर्याप्त बजार पाउन सकेको छैन । पिडा गलकोट नगरपालिका ९ का बरेखानीका किसानहरुको हो । वि।स २०५२ साल पुर्व यहाँका कृषकहरु परम्परागत निर्वाहमुखी खेती किसानी गर्दथे । कोदो मकै गहुँ छरेर जीवन निर्वाह गरेका कृषकलाई २०५२ सालको बाढी पहिरोले नयाँ मोड दियो ।
वि.सं २०५२ साल असारमा बरेखानीमा आएको ठूलो बाढी पहिरोले बारीमा क्षति गर्यो । त्यसपछि किसानले परम्परागत कृषिलाई छोडेर नगदे बाली तर्फ आकर्षित हुँदै आधुनिक कृषि प्रणाली अबलम्बन गरे । जसको फल स्वरुप उनीहरुको जीवन स्तर अहिले माथि उकासिएको छ । तर सडक अभावमा उत्पादित कृषिजन्य वस्तुले बजार पाउन नसक्दा किसानहरु चिन्तित छन । गाउँको केहि तल सम्म सडक ट्रयाक खोलिएको छ तर गाडी नहुँदा किसानहरु उत्पादित वस्तु डोकोमै बोकेर झण्डै डेढ घण्टाको पैदल यात्रामा मध्य पहाडी लोकमार्गको बाँसखोला सम्म पुराउनु पर्ने बाध्यता छ । गाउँमा कृषि सम्वन्धि प्राविधिक ज्ञानको अभाव, कृषि जेटिए उपलब्ध नहुनु र मोटरवाटोको असुविधाले तरकारी खेती गर्न समस्या भइरहेको किसानहरुको भनाई छ ।
बरेखानीले तरकारी खेती र फलफुल उत्पादनको गाँउको परिचय बनाएको छ ।
कडा मेहनत र परिश्रमले उनीहरुको मुख्य आम्दानीको श्रोत र जिविकोपार्जनको माध्यम पछिल्लो समय तरकारीखेती नै रहेको अगुवा कृषक लिलाम्बर गौतमले बताए । त्यहाँका युवादेखि बयोवृद्ध सम्म किसानहरु बिहान सबेरै देखि बेलुकीसम्म आफ्नै बारीमै व्यस्त हुने गर्दछन् । त्यहाँ उत्पादित तरकारीहरु काउली, गाजर, मुला, बन्दा लगायतका वस्तुहरु स्थानीय हटिया बजार, हरिचौर बजार, बाँसखोला, नरेठाँटी, दुदिलाभाटी, काँडेबास लगायतका बजार र गलकोट क्षेत्रका गाउँ गाउँमा पुग्ने गरेको छ ।
उक्त गाउँ तरकारी खेतीको प्रचुर सम्भावना रहेकोले त्यसका लागि आवश्यक सहयोग गर्ने गलकोट नगरपालिका वडा नं। ९ का वडा अध्यक्ष तेज बहादुर थापाले बताए । बर्षेनी सडक पु¥याउनका लागि नगरपालिकाले बजेट विनियोजन गरे पनि भौगोलिक समस्याका कारण सडक विस्तारमा समस्या भएको गलकोट नगरपालिका वडा नम्बर–९ का वडा अध्यक्ष थापाले बताए । वर्षेनी सडकमा लगानी गरेका छौ’ थापाले भने, ‘नमिलेको भू–बनोटका कारण सडकको पहुँच सहज हिसावले पु¥याउन कठिन भएको छ, हामी प्रयासरत छौ ।
वडामै कृषिको पकेट क्षेत्र मानिने बरेखानीको कृषि उत्पादनले अहिले गलकोट धानेको छ । तरकारी बेचेरै किसानहरुले आफ्नो दैनिकी चलाउनुका साथसाथै छोरा छोरीलाई उच्च शिक्षा हासिल गराई सरकारी जागिरमा प्रवेश गराएका छन् । गाउँमा बाटो नपुग्दा व्यवसायिक रुपमा तरकारी खेतिबाट राम्रो आम्दानी गर्ने सम्भावना हुँदा हुँदै पनि निर्वाहमुखी खेती गरेर बस्न बाध्य भएको स्थानीय किसानहरु गुनासो गर्छन् । थोरै जग्गामा उत्पादन धेरै मात्रमा हुनेभएकाले बजार पु¥याउन नसक्दा तरकारी बारीमा कुहिएर जादा हामी जस्ता युवा किसान साह्रै चिन्तित छौं ।
बरेखानी गाउँमा पहिले २० घर थिए । राज्यको उपेक्षा, अभाव र असुविधाका कारण बसाई सराई बढ्दै गए पछि अहिले ८ घरमा मात्र मानिस बस्दै आएका छन् । नगरपालिका भएपनि दुर्गम जस्तो लाग्ने बरेखानीमा विद्यालय समेत छैन । २०४० सालमा स्थापना भएको प्राथमिकक विद्यालय विद्यार्थीको अभावमा चार वर्ष अगाडी बन्द भएको छ ।
पैदलयात्रा मार्फत गाउ पुग्नुपर्ने भएका कारण तरकारीको स्याहार गर्ने समय भन्दा बोकेर बजार लैजाने समस्याले पिरोल्ने गरेको कृषकको गुनासो छ । त्यहाँ प्रत्येक घरमा व्यावसायिक मौरीपालन समेत गरिदै आएको छ । बजार पठाउन सडक भए यहाँका कृषकहरुले वार्षिक लाखौ आम्दानी गर्ने युवा कृषक मित्रलाल गौतमले बताए । सडकको सुविधा भए बसाई सराई गर्न नपर्ने गरि बाँकी बाझो जग्गाहरुमा पनि व्यवसायिक रुपमा खेतिबाली लगाउने सोच रहेको युवा कृषक गौतमले जानकारी दिए ।