मालिकामा शिक्षकहरुलाई प्रमाणिकरण तालिम

दरबाङ,बुधबार पुष ९ गते ।
म्याग्दीको मालिका –६ दरबाङमा शिक्षकलाई प्रमाणिकरण तालिम दिइएको छ । गण्डकी प्रदेश अन्तर्गत शिक्षा तालिम केन्द्रको आयोजना तथा मालिका गाउँपालिका शिक्षा शाखाको समन्वयमा साे दश दिने तालिम सम्पन्न भएको हो । तालिममा बिषयगत प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको परिचय तथा शिक्षण विधिहरुका बारेमा प्रशिक्षण गराइएको थियो ।

कार्यक्रममा मालिका गाउँपालिका भित्रका विद्यालयमा एक देखी तीन कक्षा सम्म अध्यापनरत नेपाली विषयका शिक्षकलाई पठन सिप विकास सम्बन्धी तालिम दिइएको थियो । कार्यक्रममा मालिका गाउँपालिकाका उपाध्यक्ष खर माया विटालुले तालिमले अध्यापन क्षेत्रमा महत्वपुर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले जनशक्ती अभावमा गुणस्तरिय शिक्षालाई प्रभावकारी बनाउन नसकिएको बताउनुभयो ।

यसैगरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्यलाल विकले तालिममा सिकेका सिपलाई व्यवहारिक रुपमा प्रभावकारी बनाउन आग्रह गर्नुभएको थियो । कार्यक्रममा प्रशिक्षार्थीहरुले विद्यालयमा भौतिक संरचनाको अभाव र न्युन जनशक्तिका कारणले गर्दा विषयगत रुपमा अध्यापन गराउन कठिन हुने गरेको बताए । उनिहरुले दरबन्दी मिलानले विषयगत शिक्षक व्यवस्थापनमा समस्या हुने गरेको गुनासो गरे ।

तालिमको समापन कार्यक्रममा आयोजक गण्डकी प्रदेश शिक्षा तालिम केन्द्रका प्रमुख नेपालहरी रानाभाटले शिक्षामा गुणस्तर बृद्धि तथा पठन सिप विकासलाई प्रभावकारी बनाउन तालिमको आयोजना गरिएको बताउनुभयो । उहाँले म्याग्दीका छ वटै स्थानीय तह भित्रका अध्यापनरत आधारभुत तह (एक– तीन )का ३ सय ९७ जना शिक्षकलाई (भ्न्च्ए) राष्ट्रिय प्रारम्भिक कक्षा पठन सिप विकास तालिम दिइने जानकारी दिनुभयो ।

मालिका गाउँपालिकाका शिक्षा संयोजक तेजप्रसाद लामिछनेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । तालिममा प्रकाश देवकोटा ,झलक सुवेदी ,हरिकृष्ण सुवेदी ,रमेश पौडेल ,बालकृष्ण सुवेदी ,कृष्णप्रसाद उपाध्याय तथा इमरान खाँन लगायतले सहजिकरण गर्नुुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार