नारच्याङमा हुने अन्नपूर्ण पर्यटन महोत्सव र अध्यक्ष कपको तयारी तिब्र

बेनी,शनिबार माघ ११ गते । म्याग्दीको अन्नपूर्ण गाउपालिका–४ नारच्याङमा आगामी हप्ता सञ्चालन हुने प्रथम अन्नपूर्ण पर्यटन महोत्सव तथा अध्यक्ष कप खेलकुद प्रतियोगिताको तयारी तिब्र बनाइएको छ ।

अन्नपूर्ण गाउपालिकाले प्रथम अन्नपूर्ण पर्यटन महोत्सवको अवसरमा पालिका स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता आयोजना गरेको हो ।

अन्नपूर्ण प्रथम हिमाल अवस्थित वडा न। ४ मा पर्ने नारच्याङको बेशी गाउमा माघ १६ देखि २१ गतेसम्म महोत्सव र प्रतियोगिता सञ्चालन गर्न लागिएको शुक्रबार बेनीमा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष डमबहादुर पुनले बताउनुभयो ।

‘वडा स्तरीय प्रौढ, महिला, पुरुष भलिबल र बास्केटबल प्रतियोगिता, एकल र सामुहिक नृत्य प्रतियोगिता र सांस्कृतिक कार्यक्रम सञ्चालन हुन्छ,’ उहाले भन्नुभयो ‘सबै प्रतियोगितामा गाउपालिका भित्रका ८ वटा वडाको सहभागिता गराउछौ ।’

पुरुष भलिबल र बास्केटबलमा बिजेता र उपबिजेतालाई ट्रफी, प्रमाणपत्र र मेडल सहित ७५ हजार र पचास हजार रुपैयाँ पुरस्कार प्रदान गरिने महोत्सवको प्रचारप्रसार संयोजक समेत रहेका गाउ कार्यपालिकाका प्रवत्ता कृष्णप्रसाद बरुवालले बताउनुभयो ।

यसैगरी महिला भलिबलको बिजेता र उपबिजेतालाई ट्रफि, प्रमाणपत्र र मेडल सहित ६० हजार र चालीस हजार तथा प्रौढ भलिबलको बिजेता उपबिजेतालाई ३५ हजार र २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जनाएका छन् ।

सामुहिक नृत्य प्रतियोगिताको बिजेतालाई बीस र उपबिजेतालाई १८ हजार तथा एकल नृत्यमा बिजेतालाई दश हजार र उपबिजेतालाई छ हजार रुपैया पुरस्कार दिइने छ । महोत्सवका लागि पन्ध्र लाख र खेलकुद प्रतियोगितालाई दश लाख रुपैयाँ बिनियोजन भएको अध्यक्ष पुनले बताउनुभयो ।

अन्नपूर्ण आधार शिविर लगायत पर्यटकीय स्थलहरुको वृत्तचित्र र तस्बिर प्रर्दशनी, कृषि, हस्तकला र घरेलु उद्योगका बस्तुको प्रर्दशनी पनि हुनेछ् । प्रथम हिमालको आधार शिविर जोड्ने पदमार्ग सञ्चालनको लागि प्रचारप्रसार गर्न महोत्सव आयोजना गरिएको गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत नबिन सुवेदीले बताउनुभयो ।

आठ वर्षअघि स्थानीयबासी तेज गुरुङको नेतृत्वमा विश्वकौ दसौ र नेपालको नवौ ९आठ हजार ९१ मिटर० अग्लो अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने सबैभन्दा छोटो पदमार्ग पहिचान गरेका थिए । सन १९५० को जुन ३ मा फ्रान्सका मौरिस हार्गोजले पहिलो पटक अन्नपूर्ण हिमालको आरोहण गरेका थिए ।

‘ओझेलमा परेको अन्नपूर्ण हिमाल र आधार शिविरलाई पहिचान गराउन महोत्सव गर्न लागेका छौ,’ प्रशासकीय अधिकृत सुवेदीले भन्नुभयो ‘नारच्याङ हुदै अन्नपूर्ण आधार शिविर जाने छोटो र सजिलो पदमार्ग तयार भएको सन्देश फैलाउनु महोत्सवको मुख्य उद्देश्य हो ।’

नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर नया गन्तब्यको रुपमा नारच्याङ–अन्नपूर्ण आधार शिविर पदमार्ग सञ्चालन गर्न लागिएको हो । आधारभूत स्तरको पदमार्ग, झोलुङ्गे पुल र क्याम्पीङ साइटहरु निर्माणका साथै नक्सा तयार पारिएको वडा अध्यक्ष चन्द्रप्रकाश फगामीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार