नारच्याङमा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु, प्रौढ भलिबलको उपाधी राम्चेलाई

सुरेन गुरुङ
नारच्याङ, शुक्रबार माघ १७ गते ।
म्याग्दीको अन्नपूर्ण गाउपालिका–४ नारच्याङमा शुक्रबारदेखि अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ ।

अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको प्रतियोगिता अन्तरगत पुरुष, महिला तथा प्रौढ भलिबल र बास्केटबल खेलमा प्रतिस्पर्धा हुने जनाइएको छ । अन्नपूर्ण पर्यटन महोत्सवसंगै सञ्चालित खेलकुद प्रतियोगिता र बेशीगाउमा अन्नपूर्ण युवा क्लवले निर्माण गरेको भवन तथा स्टेजको गाउपालिकाका अध्यक्ष डमबहादुर पुनले उद्घाटन गर्नुभयो ।

प्रौढ भलिबलमा राम्चे प्रथम र हिस्तान दोस्रो भएका छन् । सेमी फाइनलमा शिखलाई हराउदै हिस्तान र दोवालाई पराजित गर्दै राम्चे फाइनलमा पुगेका थिए । उद्घाटन खेलमा दानालाई हराउदै हिस्तानले बिजय सुरुवात गरेको थियो ।

बिजयी भएको राम्चेले पहिलो चरणको खेलमा घारलाई पराजित गरेको थियो । दोवाले नारच्याङ र शिखले भुरुङ्ग तातोपानीलाई पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका थिए ।

महोत्सवको तेस्रो दिन शनिबार महिला भलिबल खेल हुने भएको छ । प्रौढ भलिबलमा बिजेता र उपबिजेतालाई २५ हजार रुपैयाँ पुरस्कारको साथमा ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरिने खेलकुद तथा सांस्कृतिक कार्यक्रम उपसमितिका संयोजक ओमप्रकाश फगामीले बताउनुभयो ।

पुरुष भलिबल र बास्केटबलमा बिजेता र उपबिजेतालाई ट्रफी, प्रमाणपत्र र मेडल सहित ७५ हजार र पचास हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । यसैगरी महिला भलिबलको बिजेता र उपबिजेतालाई ट्रफि, प्रमाणपत्र र मेडल सहित ६० हजार र चालीस हजार प्रदान गरिने जनाएका छन् ।

सामुहिक नृत्य प्रतियोगिताको बिजेतालाई बीस र उपबिजेतालाई १८ हजार तथा एकल नृत्यमा बिजेतालाई दश हजार र उपबिजेतालाई छ हजार रुपैया पुरस्कार दिइने छ । महोत्सवमा अन्नपूर्ण आधार शिविर लगायत पर्यटकीय स्थलहरुको वृत्तचित्र र तस्बिर प्रर्दशनी, कृषि, हस्तकला र घरेलु उद्योगका बस्तुको प्रर्दशनी पनि गरिएको छ । नेपाल टेलिकमले निशूल्क मोवाइल सिम वितरण गरेको छ ।

प्रथम हिमालको आधार शिविर जोड्ने पदमार्ग सञ्चालनको लागि प्रचारप्रसार गर्न महोत्सव आयोजना गरिएको गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत नबिन सुवेदीले बताउनुभयो । आठ वर्षअघि स्थानीयबासी तेज गुरुङको नेतृत्वमा विश्वकौ दसौ र नेपालको नवौ (आठ हजार ९१ मिटर) अग्लो अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने सबैभन्दा छोटो पदमार्ग पहिचान गरेका थिए ।
सन १९५० को जुन ३ मा फ्रान्सका मौरिस हार्गोजले पहिलो पटक अन्नपूर्ण हिमालको आरोहण गरेका थिए ।नारच्याङ हुदै अन्नपूर्ण आधार शिविर जाने छोटो र सजिलो पदमार्ग तयार भएको सन्देश फैलाउनु महोत्सवको मुख्य उद्देश्य हो । सो पदमार्गको मौरिज हार्गोज टे«ल नामाकरण गरिएको छ ।

नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर नया गन्तब्यको रुपमा नारच्याङ–अन्नपूर्ण आधार शिविर पदमार्ग सञ्चालन गर्न लागिएको हो । आधारभूत स्तरको पदमार्ग, झोलुङ्गे पुल र क्याम्पीङ साइटहरु निर्माणका साथै नक्सा तयार पारिएको वडा अध्यक्ष चन्द्रप्रकाश फगामीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार