जलजला गाउँपालिकाको सातौं गाउँसभा

पर्वत, सोमबार माघ २७ गते । जलजला गाउँपालिकाको सातौं गाउँसभा सोमवार सम्पन्न भएको छ । गाउँसभालाई सम्बोधन गर्दै जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले जलजला गाउँपालिकाले जनताको आवश्यकताको आधारमा विकास आयोजना तथा प्रशासनिक सेवालाई अघि बढाएको जानकारी दिँदै योजनाहरूलाई जनमैत्री र पारदर्शी ढंगले कार्यान्वयन गराउन सबै जनप्रतिनिधि तथा सेवाग्राहीहरूलाई अनुरोध गरे । अध्यक्ष मल्लले गाउँपालिकाको भवन निर्माणका लागि लामाखेत क्षेत्रमै जग्गा खोजी गर्न एउटा दलीय समिति बनाइएको र त्यो समितिले सातदिन भित्र गाउँपालिकालाई सुझाव दिने जानकारी दिए ।

अध्यक्ष मल्लले लामाखेत क्षेत्रमै प्रशासकीय भवन निर्माणका लागि पटक पटक सूचना प्रकाशित गरि जग्गा खोजी गर्ने काम भएको तर हालसम्म निशुल्क जग्गा उपलब्ध गराउने दाता नभेटिएको बताए । उनले गाउँपालिकाभित्रका ठूला आयोजनाहरूको डिपिआर बनाएर मात्रै काम शुरू गरिने प्रतिबद्धता जनाए। अध्यक्ष मल्लले आगामी बैशाख १ गतेदेखि ७ गतेसम्म जलजला गाउँपालिकाको कालाञ्जर क्षेत्रमा आयोजना गर्न लागिएको महायज्ञलाई परिणाममुखी बनाउन गाउँपालिकाका सबै जनप्रतिनिधि तथा स्थानीयबासीहरूलाई आग्रह गरे ।

गाउँसभामा चालु आर्थिक वर्षमा गाउँपालिकाबाट संचालित आयोजनाहरूको अवस्था विश्लेषण तथा फरफारक तथा संशोधन गर्ने, यस आर्थिक वर्षको ६ महिनामा गाउँपालिकाबाट भएको बजेट खर्च अनुमोदन गर्ने, व्यवसाय दर्ता करमा छुट दिने, जलजला र सिंगो पर्वतकै धार्मिक तथा पर्यटकीय हबको रूपमा परिचित कालाञ्जर क्षेत्रको विकासका लागि बजेट विनियोजन गर्ने तथा गाउँपालिकाको भवनका बिषयमा निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिए ।

गाउँसभामा वडा नं २ का वडा अध्यक्ष गोविन्द खत्री, वडा नं ३ का वडा अध्यक्ष देवेन्द्र भण्डारी रवि, वडा नं ४ का वडा अध्यक्ष भीष्म मल्ल, वडा नं ७ का वडा अध्यक्ष टुङ्गनाथ आचार्य, वडा नं ८ का वडा अध्यक्ष हरिविकाश जिसी र वडा नं ९ का वडा अध्यक्ष गौबहादुर पुन लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार