कोरोनाको कहर नेपाल सुरक्षित, नेपालीहरु पनि सुरक्षित


काठमाडौं , बिहिबार चैत ०६ गते । चीनको हुबेइ प्रान्तको वुहान सहरबाट फैलिएको मानिएको नोबेल कोरोनाभाइरस कोभिड–१९ले विश्वव्यापी फैलिएको छ । यो समाचार तयार पार्दासम्म कोभिड–१९ बाट २ लाख १९ हजार ९९४ जना संक्रमित भएका छन् र ८ हजार ९६७ जनाको मृत्यु भइसकेको छ । संक्रमितमध्ये ८५ हजार ७६९ जना स्वस्थ भएर घर फर्किएका छन् ।

कोरोना फैलिएको १६२ मुलुकमध्ये नेपालमात्र यस्तो मुलुक हो जहाँ अहिले कोभिड–१९ का बिरामी छैनन् । चीनबाट फर्किएका एक नेपालीमा यो भाइरस पुष्टि भएकोमा उनी स्वस्थ भइसकेका छन् । र, नेपाल कोरोना प्रभावितको सूचीमा हरियो रङ अर्थात सुरक्षित देशको सूचीमा छ ।

चीनपछि इटाली सबैभन्दा प्रभावित देश हो । युरोपका अन्य देश, अमेरिका र इरान पनि यो समस्यासँग जुधिरहेका छन् । कोरोनाको अतिप्रभावित देशहरुमा नेपालीहरुको उल्लेख्य बसोबास रहेको छ । तर, तुलनात्मक रुपमा त्यहाँ रहेका नेपालीहरु पनि हालसम्म सुरक्षित रहेका छन् ।

हालसम्म अष्ट्रेलियामा एक, पोर्तुगलमा एक र संयुक्त अरब इमिरेट्स यूएईमा २ जना नेपाली यो भाइरसबाट संक्रमित छन् । त्यहाँ रहेका नेपाली कूटनीतिक नियोगहरुका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ । भाइरसबाट संक्रमित भएर निको भइसकेका चीनबाट नेपाल फर्किएका एक नेपालीसहित हालसम्म विश्वभर रहेका ५ जना नेपालीलाई यो भाइरस संक्रमण भएको छ । अरु नेपालीहरु भने सुरक्षित छन् । नागरिकखबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार