कोरोना : हेटौंडा औद्योगिक क्षेत्रका ८० प्रतिशत उद्योग बन्द

मकवानपुर ,आइतबार चैत १६ गते । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभीड–१९) संक्रमणको प्रभाव हेटौंडा औद्योगिक क्षेत्रमा पनि परेको छ । औद्योगिक क्षेत्रमा रहेका करिब ८० प्रतिशत उद्योग बन्द भएका छन् ।

संघीय सरकारको निर्णयानुसार अतिआवश्यक र खाद्यान्नसँगसम्बन्धित उद्योगमात्र सञ्चालनमा रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको कार्यालयले जनाएको छ। दूग्ध, साबुन, कुकिज र प्लास्टिक प्याकेजिङ उद्योगहरु सञ्चालनमा रहेको कार्यालय प्रमुख राजेन्द्र कँडेलले जानकारी दिए।

उनका अनुसार हाल सञ्चालनमा रहेका अधिकांश उद्योगहरु पनि बिहानीसत्रमा मात्र चालु छन्। ‘रातिको सिफ्टमा मजदुर आउजाउमा समस्या भएकालेबिहान र दिउँसोमा मात्र उद्योग सञ्चालन गर्न उद्योगीहरु बाध्य भएका हुन्। स्थानीय प्रशासनले अतिआवश्यक उद्योगका लागि मजदुर आउजाउको व्यवस्था गरिदिएको खण्डमा रातमा पनि उद्योग सञ्चालन गर्ने प्रतिबद्धता उनीहरुले जनाएका छन्,’ कँडेलले भने।

बजारको मागमा आएको कमी र तेस्रो मुलुकबाट ल्याउनुपर्ने कच्चा पदार्थको आयात ठप्प भएसँगै उद्योगहरुले आफ्नो उत्पादनमा कटौती गर्दै लगेका छन्। ‘कोरोना भाइरसका कारण कति उद्योग प्रभावित भए, कुनमा कति प्रभाव पर्‍यो भन्नेबारे हामीले सर्वेक्षणको तयारी गरेका छौं। केही दिनमा त्यो तथ्यांक तयार गर्नेछौं,’ उनले भने।

कोरोना भाइरसका कारण कच्चा पदार्थ आयात र बजारीकरणमा प्रभाव परेको भन्दै उद्योग संघ हेटौंडाका अध्यक्ष लेखराज पोखरेलले सरकारले बैंकको ब्याज छुट तथा किस्ता तिर्ने मिति थप गर्नुपर्ने माग गरेका छन्। ‘उद्योग बन्द हुँदा वा उत्पादनमा कटौती भइरहँदा कामदार पनि कटौती गर्नुपर्ने अवस्था छ। उद्योगीले बैंकमा तिर्ने ब्याज र किस्ता पनि बुझाउन नसक्ने अवस्था

बनेको छ। यसको असर चैतमा मात्रै होइन, असार मसान्तसम्मै देखिन्छ। त्यसकारण उद्योगीको समस्यालाई समाधान गर्न सरकारले ब्याज तथा किस्ता अवधि थप्नेबारे तत्काल नीतिगत निर्णय गर्नुपर्ने देखिन्छ,’ पोखरेलले भने।

हेटौंडा–९ मा रहेको औद्योगिक क्षेत्रमा रहेका एक सय ११ उद्योगमा करिब पाँचहजार मजदुर कार्यरत छन्। सञ्चालनमा रहेका सबै उद्योगले कोराना संक्रमणलाई मध्यनजर गर्दै आउजाउ गर्ने सबैको गेटमै शरीरको तापक्रम नाप्दै आएका छन्।ekantipur

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार