बेनीमा खाद्यान्नको उपलब्धता र आपुर्तिका विषयमा छलफल

बेनी,विहिबार चैत २० गते । नोभल कोरोना भाइरस (कोभिड –१९) रोकथामका लागि गरिएको लकडाउनका कारण म्याग्दीमा हुन सक्ने सम्भावित खाद्यान्न अभावको समस्यालाई समाधान गर्न सरोकारवालाहरुबीच बुधबार बेनीमा छलफल भएको छ ।

म्याग्दी उद्योग वाणिज्यले आयोजना गरेको छलफलमा जनप्रतिनिधि प्रशासन, सुरक्षा अधिकारी, घरेलु तथा साना उद्योग कार्यालय, स्थानीय तह र ब्यापारीहरुको उपस्थिति थियो ।

छलफलपछि म्याग्दीमा कम मात्रामा उपलब्ध रहेको खाने तेल, ग्याँस र नुनको आपुर्ति गराएर सम्बन्धित डिलरहरुले प्रशासनसंग सहकार्य गरेर बजारमा बिक्री वितरण गर्ने निर्णय भएको म्याग्दी उद्योग वाणिज्य संघका महासचिव लीलाराम गौतमले बताउनुभयो ।

गण्डकी प्रदेशका सांसद बिनोद केसीको उपस्थितिमा बसेको बैठकको सहजिकरण म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले गर्नुभएको थियो । सहभागिहरुले बजारमा नुन, तेल र ग्यासको अभाव हुनुका साथै खाद्यान्न पदार्थको मूल्यमा समेत बढेको पाइएकाले त्यसलाई नियमन गर्नुपर्ने बताएका थिए ।

अध्यक्ष कर्माचार्यले म्याग्दीमा हाल उपलब्ध चाम, नुन, तेल, दाल, चिनी र इन्धनको स्टकको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । चामल बेनी नगरपालिकामा १० हजार २९३ बोरा, नुन ५४३ बोरा, एक ६१७ कार्टुन खानेतेल, २८८ बोरा दाल, ५२५ बोरा चिनी, ८ हजार लिटर पेट्रोल, तीस हजार लिटर डिजेल र तीन हजार लिटर मट्टितेल उपलब्ध रहेको जानकारी गराइएको थियो ।

रघुगंगामा २५० बोरा, अन्नपूर्णमा २००, धवलागिरीमा २०० र मालिकामा १५० बोरा चामल स्टक रहेको जानकारी गराएका थिए । खाद्यान्न पसल र ढुवानीमा लकडाउनको प्रभाव नपरेपनि उद्योगमा कर्मचारीले कोरोनाको त्रासले काम गर्न छाडेकाले उत्पादनसंगै बजारमा आपुर्ति घटेको बताइएको थियो ।

उपभोक्तासंग र ब्यापारीसंग भएको स्टक चामलले अबको एक महिनासम्मा मात्र धान्न सक्ने विश्लेषण गरिएको छ । गहुँ, उवा लगायत हिउदे बालीमा माथिल्लो क्षेत्रमा हिमपातले असर गरेको, धान, कोदो लगायत बाली खेती कम भएको बताइएको छ ।

सम्भावित भोकमरीको अवस्थालाई टार्न र स्थानीय तह मार्फत विपन्न मजदुरहरुलाई वितरण गरिने राहतका लागि समेत थप सामान आयात गर्न पहल गर्नुपर्ने सहभागिको भनाई थियो । प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले अभाव हुन नदिने गरी आपुर्ती गर्न प्रदेश सरकार र संघीय सरकारका माथिल्लो निकायमा पहल गरिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार