धवलागिरि गाउँपालिकाद्धारा विपन्न परिवारलाई राहत वितरण सुरु (तस्बिर सहित )

म्याग्दी शनिबार चैत २२ गते । जिल्लाको धवलागिरी गाउँपालिकाले विपन्न तथा मजदुर परिवारलाई खाद्यान्न राहत सामाग्री वितरण सुरु गरेको छ । गाउँपालिकाले
विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनको कारण समस्यामा परेका गरिब तथा विपन्न र मजदुरहरुलाई राहत वितरण सुरु गरेको हो । शनिबार देखी वडा स्तरबाट गरिब विपन्न र मजदुर घरपरिवारको लगत संकलन गरि लकडाउन अवधिलाई लक्षित गरि राहत स्वरुप खाद्यान्न सहयोग गर्न सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

शनिवार वडा नम्बर २ लुलाङ र वडा नम्बर ७ मच्छीममा राहत वितरण गरिएको छ । लुलाङमा पहिलो चरणमा ३० जनालाई र मच्छीममा ७० जना बढीलाई राहत वितरण गरिएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो । गाउँपालिका अध्यक्ष पुन, उपाध्यक्ष रेशम छन्त्याल, योजना अधिकृत कृष्ण सुवेदी लगायत कार्यपालिकाका सदस्यहरुको टोलीले वडाका जनप्रतिनिधिहरुको रोहोबरमा वडाबाट सिफारिस भइ आएका गरिब, विपन्न र ज्यालामजदुरी गरि जिविकोपार्जन गर्दै आएकाहरुलाई खाद्यान्न वितरण गर्नुभएको थियो ।

गाउँपालिकामा अहिलेसम्म ७ वटै वडाबाट राहतको लागि करिब ६ सय घरपरिवारको तथ्याङ्क संकलन भएको छ । त्यसैगरि गाउँपालिकाले गाउँपालिकाभित्र लकडाउनको कारण रोकिएर बसेका मजदुर र घुम्ती व्यापारको लागि पुगेर समस्यामा परेकाहरुलाई समेत राहत दिने भएको छ । गाउँपालिकाले ५ जना सदस्य रहेको परिवारलाई १ बोरा चामल, २ पोका नुन, ३ वटा सावुन र ३ पोका खाने तेल, ८ जना सम्म हुने परिवारलाई २ बोरा चामल, ५ पोका तेल, ३ वटा सावुन र २ पोका नुन तथा ८ जना भन्दा बढी हुने परिवारलाई ३ बोरा चामल, ५ पोका तेल, ३ वटा सावुन र २ पोका नुनको राहत प्याकेज बनाएको जनाएको छ ।

गाउँपालिकाले सबै वडा स्तरमा पुगेर राहत वितरण गर्ने जनाएको छ । अहिले कोरोना रोकथाम र नियन्त्रणको लागि गाउँपालिकाले हरेक वडा तहमा गरि ४० बेड क्षमताको क्वारेनटाइन निर्माण गरेको छ । क्वारेनटाईनमा विदेशमा आएका नागरिहरु ३ जना बसेकोमा अहिले उनीहरु नेपाल भित्रिएको १५ दिन बढी भएको र स्वास्थ्यमा कोरोनाको कुनै लक्षण नदेखिएपछि उनीहरु घरमा फर्किएका छन भने गाउँपालिकाले बेजिल्ला र गाउँपालिका बाहिरबाट आउनेहरुलाई समेत क्वारेनटाइनमा राख्न सुरु गरेको छ । कोरोना रोकथामको लागि अहिलेसम्म १५ जना बढीलाई बेजिल्लाबाट आएकाहरुलाई क्वारेनटाइनमा राखिएको अध्यक्ष पुनले बताउनुभयो ।

यस गाउँपालिकाले कोरोना रोकथाम र नियन्त्रणको लागि लकडाउनलाई कार्यान्वयन गराउनको लागि गाउँपालिकाको विभिन्न नाकाहरुमा २० जना स्वमसेवक छनौट गरेर परिचालन गरिएको उपाध्यक्ष रेशम छन्त्यालले जानकारी दिनुभयो । गाउँपालिकाले कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि परिचालन गर्न पचास लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार