अन्नपुर्णको तल्लो शिख देखि घिर्वाङ जोड्ने सडक निर्माण

सेते तिलीजा पुन
शिख,शनिबार वैशाख २० गते । जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ शिखमा लकडाउन(बन्दाबन्दी)कै बीचमा सडक निर्माण भएको छ । शिखको तल्लो गाउँदेखि घिर्वाङ जोड्ने सडक निर्माण भएको हो । वैशाख पहिलो हप्ता सुरु भएको सडक निर्माण कार्य यसै हप्ता सम्पन्न भएको छ । स्थानीय स्तरमा उपलब्ध उपकरण (डोजर र मजदुरं)परिचालन गरेर सडक निर्माण गरेको उपभोक्ता समितिका अध्यक्ष भविन्द्र गुरुङले जानकारी दिनुभयो ।

“यही भएको डोजर र मजदुरलाई सामाजिक दुरि कायम गरेर सतर्कता अपनाएर सडक खनेका हौ,” उहाँले भन्नुभयो “विकास पनि भयो, मजदुरहरुले रोजगारी पनि पाए ।” २.५ किलोमिटर दुरीको सडकको चौडाई ४.५ मिटर छ ।

कुल १५ लाख ७१ हजार ८७० रुपैयाँँको लागतमा सडक निर्माण भएको उपभोक्ता समितिले जनाएको छ । अन्नपूर्ण गाउँपालिकाले आठ लाख २५ हजार रुपैयाँ बिनियोजन गरेको सडक निर्माणमा स्थानीय स्रोत र नगद समेत परिचालन भएको वडा अध्यक्ष दिनेश तिलीजाले बताउनुभयो ।

तल्लो शिखबाट चार लाख, पाउद्धारबाट एक लाख, शिख देउरालीबाट पचास हजार र किन्दुबाट पचास हजार रुपैयाँ आर्थिक सहयोग संकलन भएको थियो । उपभोक्ताले एक लाख ४६ हजार ८७० रुपैयाँ बराबरको श्रमदान गरेका छन् ।

सडक निर्माण भएपछि शिख, किन्दु, झारवाङका १३० घरधुरीका ५०० जनसंख्या लाभान्वित भएका छ । आवत जावत, निर्माण र खाद्यान्न सामग्री ढुवानी तथा आलु, तरकारी लगायत कृषि उपज निकासीमा सहज भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार