७८ बर्षिया बृद्धा महिलामा डेङ्गु पोजेटिभ

बेनी ,सोमबार जेठ १९ गते ।
पर्वतको जलजला गाउँपालिका–४ की एक बृद्धा महिलामा डेङ्गु पोजेटिभ देखिएको छ । सोमबार उपचार्थ बेनी अस्पताल आएकी ७८ बर्षिया महिलामा डेङ्गु पोजेटिभ देखिएको अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार ती बृद्धा महिलामा उच्च ज्वरो आउने ,शरिर दुख्ने लगायत लक्षण देखा परेको थियो । बृद्धा महिलालाई थप उपचारका लागि अस्पताल भर्ना गरिएको सुचना अधिकारी सुवेदीले बताउनुभयो ।

यो सिजनमा म्याग्दीमा १२ र पर्वतमा १ गरी १३ जनामा डेङ्गु पोजेटिभ देखिएको सुचना अधिकारी सुवेदीले जानकारी दिनुभयो । अहिलेसम्म ९ जना निको भएर घर फर्किएका छन् भने चारजना उपचाररत छन् । चार जनामध्ये एक जनालाई पोखरा स्थित मनिपाल अस्पताल रिफर गरिएको छ । यस अघि बेनी नगरपालिकामा ३ महिला र ४ पुरुष ,मंगला गाउँपालिकामा २ पुरुष र २ महिला तथा अन्नपुर्ण गाउँपालिकामा १ जना महिलामा डेङ्गु पोजेटिभ देखिएको थियो ।

एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गु संक्रमण हुने अस्पतालका बरिष्ठ मेडिकल ल्याब टेक्नोलोजिष्ट सञ्जोग तिमिल्सिनाले बताउनुभयो । उहाँका अनुसार उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, आँखाको गेडी र टाउकोको पछिल्लो भाग दुख्ने शरिरमा बिमिरा आउने, हाड जोर्नी तथा मांसपेसीहरु दुख्ने डेगुको मुख्य लक्षण हुन् ।


टिन, रंगका खाली डब्बा, टायर ट्युब, खाली ड्महरुमा पानी जम्न नदिने, घर, कौसीको गमला, फुलदानी, एयर कण्डिसन, कुलर, पानीको ट्याकीमा डेङ्गु सार्ने लामखुट्टेले फुल पार्छ । डेङ्गु फैलिन नदिन लामखुट्टेको बासस्थान नष्ट गर्नुपर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीले अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार