म्याग्दीमा थप दुई जनामा डेङ्गु संक्रमण

बेनी ,शनिबार असार ०६ गते ।
म्याग्दीमा थप दुई जनामा डेङ्गु संक्रमण देखिएको छ । उपचारका लागि बेनी अस्पताल आएका जिल्लाको मंगला गाउँपालिका–३ की २७ बर्षिया युवती र रघुगंगा गाउँपालिका –३ की १९ बर्षिया युवतीमा डेङ्गु पोजेटिभ देखिएको अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार २७ बर्षियामा शुक्रबार राति र १९ बर्षिया युवतीमा शनिबार डेङ्गु पोजेटिभ देखिएको थियो । संक्रमित दुई जनालाई थप उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । १९ बर्षिया युवती एक हप्ता अगाडी पर्यटकीय स्थल टोड्के गएर आएकी थिइन् । दुई जना थपिए संगै डेङ्गु संक्रमितको संख्या १६ जना पुगेको सुचना अधिकारी सुवेदीले बताउनुभयो । अहिलेसम्म संक्रमित १६ मध्ये १४ जना निको भएर घर फर्किएका छन् । एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गु संक्रमण हुन्छ ।

गर्मी समय र बर्षायाम सुरु भएसंगै डेङ्गु संक्रमण फैलिने सम्भावना बढी हुने भएकाले सरसफाईमा विशेष ध्यान दिन चिकित्सक तथा स्वास्थ्यकर्मीको सुझाव छ । नेपालमा पहिलो पटक सन् २००४ मा विदेशी नागरिकमा डेङ्गु संक्रमण देखिएको थियो । गत बर्ष १६ हजार बढीमा डेङ्गु संक्रमण देखिएकोमा ६ जनाको मृत्य भएको । म्याग्दी डेङ्गुको नेपालकै उच्च जोखिममा रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार