म्याग्दीमा १४ जना कोरोना जितेर घर फर्किए

बेनी। म्याग्दीमा थप १४ जना कोरोना जितेर घर फर्किएका छन् । कोरोनामुक्त भएपछि उनीहरुलाई सोमबार आइसोलेशन कक्षबाट विदाई गरिएको हो । कोरोना जित्नेहरुमा सवैजना पुरुष छन् ।जिल्लामा अहिले सम्म ४० जनामा कोरोना पोजेटिभ पुष्टि भएकोमा ३४ जना निको भएर घर फर्किएका छन् । बेनीको आइसोलेशनमा अहिले ६ जनामात्र छन् ।

कुवेत, भारत र कतारबाट आएर बेनीको क्वरेण्टीनमा रहेको बेला कोरोना भएका १४ जना आइसोलेशन अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । डिस्चार्ज हुनेहरुमा सबैभन्दा धेरै कुवेतबाट आएका नौ जना, भारतबाट आएका तीन जना र कतारबाट आएका दुई जना रहेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो ।

डिस्चार्ज हुनेहरुमा मङ्गला गाउँपालिका १ कुहुँका ३५ वर्षीय पुरुष, मङ्गला २ हिदीका २३ वर्षीय पुरुष, रघुगङ्गा गाउँपालिका ३ राखुपिप्लेका ३० वर्षीय र ४७ वर्षीय पुरुष तथा रघुगंगा ६ पाखापानीका २८ वर्षीय पुरुष रहेका छन् ।

यसैगरी मालिका गाउँपालिका १ निस्कोटका ३३ वर्षीय पुरुष, मलिका २ रुम र मालिका ३ रुम ९डाँडा गाउँ० का २५ र ४८ वर्षीय पुरुष, मालिका ५ देवीस्थानका २९ वर्षीय पुरुष तथा मालिका ७ बिमका २६ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लम्सालले बताउनुभयो ।

त्यस्तै बेनी नगरपालिका १ रत्नेचौरका १८ वर्षीय पुरुष, बेनी ४ सिङ्गाका २८ र ३० वर्षीय पुरुष एवं अन्नपूर्ण गाउँपालिका ६ घारका ३० वर्षीय पुरुष डिस्चार्ज भएका छन् । उनीहरुलाई म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल र बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाल,रेडक्रसकर्मी तथा कोभिड १९ का कमाण्ड पोष्ट सदस्य सुरज केसी र स्वास्थ्यकर्मीहरुले खादा ओढाएर बिदाइ गर्नुभएको हो ।

उनीहरुलाई बिदाइ गर्दै प्रजिअ ढकालले आइसोलेशन अस्पतालबाट घर फर्किए पनि कम्तीमा एक हप्तासम्म आवश्यक सुरक्षा सावधानी अपनाएर होम क्वरेण्टीनमा बस्न सुझाव दिनुभएको छ ।

म्याग्दीबाट अहिलेसम्म ६ सय ५६ वटा नमुना सङ्कलन गरी पठाइएकोमा ६ सय १५ वटा नमुनाको रिपोर्ट आउँदा पाँच सय ६३ वटा नमुनाको रिपोर्ट नेगेटिभ आएको छ । संक्रमित बिरामीको दोस्रो, तेस्रो नमुनासहित ५१ वटा नमुनाको रिपोर्ट पोजिटिभ र एउटा नमुना इन्भ्यालिट आएकोमा ४१ वटा नमुनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार