दैनिक ५ सय जना सम्मलाई नेपाल आउन अनुमति, आउनेले यस्ता नियम पालना गर्नुपर्ने

काठमाडौं । विदेशमा अलपत्र परेका कुनैपनि नेपाली नागरिकले पीसीआर परीक्षणसहित सात दिनसम्म होटल क्वारेन्टाइनमा बस्ने लिखित प्रतिवद्धता जनाएपछि मात्रै नेपाल आउन टिकट पाउने भएका छन् । सरकारले दैनिक ५ सय जना सम्मलाई नेपाल आउन अनुमति दिने निर्णय समेत गरेको छ । विदेशबाट आउनेलाई अनिवार्य होटल क्वारेन्टाइनर्मा बस्नैपर्ने व्यवस्था गरिएपछि होटल व्यवसायीहरुले पनि तयारी थालेका छन् ।

विदेशबाट आउने कुनैपनि व्यक्तिले पीसीआर परीक्षण गरेपछि मात्रै नेपाल आउनका लागि टिकट खरिद गर्न पाउनेछन । यस्तै नेपालमा आएपछि अनिवार्य सात दिनसम्म होटल क्वारेन्टाइनमा बस्नुपर्ने र त्यसको खर्च आफैले तिर्ने लिखित प्रतिवदता समेत टिकट खरिद गर्दाको अवस्थामै जनाउनु पर्नेछ । त्यसपछि मात्रै स्वदेश फर्किनका लागि अनुमति पाउनेछन् ।

यसअघि उद्दार गरी ल्याइएका केही व्यक्तिहरुले होटलमा बस्न दररेटमा बार्गेनिङ गरेकाले अबदेखि विदेशमा नै होटल र होम क्वारेन्टाइनमा बस्ने सम्मको लिखित प्रतिवद्धता गर्नुपर्ने व्यवस्था गरिएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए । जहाजको टिकट खर्च विदेशमा नै तिर्नुपर्ने र सात दिनसम्म होटलमा बसेको खर्च, घर सम्म पुग्दा लाग्ने खर्च र होम क्वारेन्टाइनमा बस्नुपर्ने विषयमा लिखित प्रतिवद्धता जनाउन नसक्नेहरु नेपाल आउन नपाउने दाहालले स्पस्ट पारे ।

अहिले काठमाडौं उपत्यकामा क्वारेन्टाइन र आइसोलेसन सेन्टरको प्रयाप्त व्यवस्था छैन । त्यसैले सरकारले गृहसचिवको संयोजकत्वमा एकीकृत क्वारेन्टाइन निर्माण व्यवस्थापन समिति निर्माण गरेको छ । त्यसमा पालिका, स्वास्थ्य मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधि र प्रमुख जिल्ला अधिकारीहरु रहेका छन् । समितिले होटल क्वारेनटाइनहरुको स्थल पहिचान गर्ने, अनुगमन गर्ने, खर्चको व्यवस्थापनका लागि सिफारिस गर्ने लगायतका काम गर्ने प्र.जि.अ.दाहालले बताए ।

काठमाडौं जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)ले काठमाडौं उपत्यकामा रहेका होटलहरुलाई क्वारेन्टाइन प्रयोजनार्थ प्रयोग गर्नका लागि होटलहरुको सूची र दररेट सार्वजनिक गरिसकेको छ । तरपनि उद्धार गरी ल्याइएका कतिपय नेपाली नागरिकहरुका लागि राख्ने क्वारेन्टाइन सेन्टरमा हुने खर्चको व्यवस्थापन वैदेशिक रोजगार कोष र कोरोना उपचार तथा रोकथाम कोषबाट हुने प्र.जि.अ. दाहालले बताए । क्वारेन्टाइनहरुको सुरक्षा नेपाली सेनाले गर्ने छ भने व्यवस्थापनको काम स्थानीय सरकारले गर्नेछ ।

सरकारले विदेशबाट हवाई मार्ग हुँदै नेपाल आउने नागरिकलाई अनिवार्य होटल क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेपछि होटल व्यवसायीहरुले तयारी सुरु गरेका छन् । होटल क्वारेन्टाइनमा बस्ने व्यक्तिको होटलमा पुग्नासाथ सम्पूर्ण विवरण राख्ने, ज्वरो नाप्ने, ह्याण्ड सेनिटाइज गर्ने, लगेज सेनिटाइज गर्ने, फारम भराउने र कोठामा जाने व्यवस्था मापदण्डअनुसार गर्ने होटलहरुले बताएका छन् । एयरपोर्ट होटलका व्यवस्थापक रामकुमार बन्जराले नेपाल पर्यटन बोर्डले तोकेको मापदण्ड अनुसार नै व्यवस्थापन गर्न लागिएको बताए ।

स्वास्थ्य सुरक्षाको मापदण्डलाई पूर्ण रुपमा पालना गर्ने र गेष्टलाई समेत पालना गर्न लगाउने उनले बताए । त्यस्तै कुनै व्यक्तिले होटल छाडेपछि ४८ घण्टासम्म कोठा बन्द नै रहने छ । त्यसपछि घण्टापछि उक्त कोठालाई पूर्णरुपमा निसंक्रमण गरेपछि मात्रै अर्को गेष्टलाई प्रवेश गराइने बन्जाराले बताए ।

होटलमा रहदा कसैले पनि रुम सर्भिस भने पाउने छैनन् । खाजा र खाना होटलकै रेस्टुरेन्टबाट लिनुपर्ने व्यवस्था होटलहरुले गरेका छन् । रेस्टुरेन्टमा पनि भौतिक दुरीलाई कायम गरिएको बन्जाराले बताए । उनले नेपाल पर्यटन बोर्डको मापदण्डअनुसार नै सबै व्यवस्थापन गरिने स्पस्ट पारे ।

सरकारले पीसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहित नियमित उडान गर्ने निर्णय गरेको छ । दैनिक ५ सयभन्दा बढी यात्रु नकटने गरी उडान सञ्चालन गर्न दिने निर्णय सरकारले गरेको थियो । यो प्रयोजनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान तालिका बनाउने जिम्मेवारी पाएको छ । टिकट खरिदका लागि कुनैपनि यात्रुको ७२ घण्टाभित्र पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हुनुपर्नेछ । त्यसरी आउने यात्रुले सात दिनसम्म आफ्नै खर्चमा काठमाडौंमा रहेका होटल क्वारेन्टाइनमा बस्नुपर्ने लिखित प्रतिवद्धता पनि टिकट खरिद गर्दाको अवस्थामा नै जनाउनुपर्नेछ।रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार