
बेनी । पहिरोको कारण अवरुद्ध बेनी–दरबाङ्ग सिधा यातायात सेवा संचालनमा आएको छ । बेनी–दरबाङ्ग अन्तर्गत लाम्पाटा–दरबाङ्ग खण्डमा पर्ने मालिका गाउँपालिकाको वडा नं ६ स्थित बाङ्गे पहिरोमा खसेको पहिरोको कारण करिब एक महिनादेखी सिधा यातायात अवरुद्ध भएको थियो ।
मंगला गाउँपालिकाको वडा नं २ लाम्पाटादेखी मालिका गाउँपालिकाको दरबाङ्गसम्मको सो सडक निर्माणको ठेक्का पाएको विरुवा क्याराभान निर्माण कम्पनीले पहिरो पन्छाएर मर्मत गरेपछि सिधा यातायात संचालनमा आएको वडा अध्यक्ष सन्तोष सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार आइतबार बेलुका देखी बेनी–दरबाङ सिधा यातायात सेवा सुचारु भएको हो । सिधा यातायात सेवा अवरुद्ध हुँदा यात्रु तथा ब्यवसायीहरुलाई सास्ती भएको थियो । भने सडक अवरुद्ध हुँदा यातायात ब्यवसायी मर्कामा परेका थिए । पहिरो पन्छाए पनि निरन्तर परेको बर्षाका कारण पहिरो खस्ने क्रम नरोकिएकाले सडक सुचारु गर्न समस्या भएकोे थियो ।