कोरोना महामारी:अमेरिकालाई उछिनेर भारतले बनायो खराब रेकर्ड

काठमाण्डौं। भारतले आइतबार आफ्नो देशमा २४ घण्टाभित्र ७८ हजार ७ सय ६१ जनामा संक्रमण देखिएको घोषणा गर्यो । विश्वको कुनै देशमा एकै दिन यति धेरैमा कोरोना भाइरस संक्रमण पहिचान भएको यो पहिलो घटना हो ।

यसअघि अमेरिकाले गत जुन १६ मा २४ घण्टाभित्र ७७ हजार २ सय ९९ जनामा संक्रमण देखिएको जानकारी दिएको थियो । तर यो खराब रेकर्ड भारतमा ब्रेक भएको छ । विश्वको दोस्रो ठूलो जनसंख्या भारतमा अहिले ३५ लाख ४० हजारभन्दा धेरैमा संक्रमण देखिइसकेको छ । अति प्रभावित देशको सूचीमा भारत तेस्रो हो । पहिलो स्थानमा रहेको अमेरिकामा ६१ लाखभन्दा धेरैमा संक्रमण देखिएको छ भने ब्राजिलमा ३८ लाख ४६ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भइसकेको छ ।

यद्यपि, पछिल्लो एक सातादेखि दैनिक संक्रमित हुने नयाँ व्यक्तिको संख्या अमेरिका र ब्राजिलभन्दा भारतमा धेरै छ । अहिलेसम्म भारतमा ६३ हजार ४ सय ९८ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । भारतका सबैभन्दा धनी राज्य महाराष्ट्रमा पछिल्लो २४ घण्टामा ३ सय ३१ जनाले ज्यान गुमाएका छन् भने कर्नाटकमा १ सय ३६ जनाको मृत्यु भएको छ । रातोपाटी/एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार