कोरोना भाइरसको संक्रमणबाट नेपालमा स्वास्थ्यकर्मीको पहिलो मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा स्वास्थ्यकर्मीको पहिलो मृत्यु भएको छ । महोत्तरीको मनरा सिसवाका ४० वर्षीय हेल्थ हसिस्टेन्ट कमलेस सहनीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रदेश २ सरकारका कोभिड फोकल पर्सन विजयकुमार झाले उपचारका लागि काठमाडौं लैजादै गर्दा हेल्थ असिस्टेन्ट सहनीको बाटोमै मृत्यु भएको जानकारी दिएका छन् ।

भदौ ७ गते बिरामी भएका उनको १२ गते मृत्यु भएको प्रदेश २ सरकारले जनाएको छ । ती व्यक्तिले स्थानीय निजी स्वास्थ्य संस्थामा काम गर्दै आएका थिए । मृत्युपछि स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

ज्यान गुमाउने हेल्थ असिस्टेन्ट नेपालकै पहिलो स्वास्थ्यकर्मी हुन् । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने अहिलेसम्म औपचारिक घोषणा गरेको छैन ।

मनरा सिसवा नगरपालिकाका सूचना अधिकृत आलोककुमार सहनीले जनताकै उपचारका खटिने क्रममा कोरोना संक्रमण भएको आशंका गरिएको जानकारी दिए । उनले नागरिकखबरसँग भने, ुघर नजिकै क्लिनिक सञ्चालन गर्नु भएको थियो । पछिल्लो समय उहाँले समस्या परेका व्यक्तिलाई घरमै पुगेर सहयोग गर्नु भएको थियो । फिल्ड वर्ककै क्रममा कोरोना संक्रमण भएको आशंका छ ।

स्वास्थ्यकर्मी सहनीकी श्रीमतीलाई पनि कोरोना संक्रमण भएको छ । परिवारका अन्य सदस्यको रिपोर्ट आउन बाँकी रहेको सूचना अधिकृत सहनीले बताए । मृतकका श्रीमती, एक छोरा र एक छोरी छन् । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार