रुपन्देहीमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

बुटवल । रुपन्देहीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या दैनिक बृद्धि भएको छ । दोस्रो चरणको लकडाउनपछि कोरोना संक्रमितहरुको संख्यामा बृद्धि भएको भएको हो । शुक्रबार मात्र रुपन्देहीमा ३ जनाको मृत्यु भएको छ । बुटवलमा २ जनाको मृत्यु भएको छ भने भैरहवा होम आइसोलेसनमा बसेका एक पुरुषको मृत्यु भएको छ । योसँगै रुपन्देही जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं ८ का ४५ वर्षका पुरुषको होम आइसोलेसनमै मृत्यु भएको छ ।

चितवनको भरतपुर क्यान्सर अस्पतालमा उपचार गराउन गएका बेला उनलाई ४ दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो । उनको आज बिहान घरमै मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ शाहले रातोपाटीलाई जानकारी दिए । उनी मिर्गौलाका बिरामी रहेको शाहले बताए ।

आजै बुटवलको एक निजी अस्पताल र धागो कारखानामा रहेको कोरोना बिशेष अस्पतमलमा पनि एक–एक जनाको मृत्यु भएको छ । बुटवलको गौतमबुद्ध मुटु अस्पतालमा उपचाररत रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं.७ कि ६४ वर्षीया महिलाको मृत्यु भएको हो । भदौ ४ गते अस्पतालमा भर्ना भएकी उनलाई भदौ १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

उच्च रक्तचाप, मधुमेह, मृगौला रोग र निमोनियाको समस्या देखिएपछि वृद्धालाई भदौ ४ गतेदेखि नै भेन्टिलेटरको सहायतामा आईसीयूमा राखेर उपचार गरिएको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । शुक्रबार बिहानै बुटवल उपमहानगरपालिका वडा नं ८ का ७८ वर्षका पुरुषको पनि मृत्यु भएको थियो ।

बुटवलको कोरोना अस्पतालमा उनको मृत्यु भएको हो । भदौ ४ गते अस्पताल भर्ना भएका उनको भेन्टिलेटरको सहायतामा आईसीयूमा उपचार गर्दा गर्दै मृत्यु कोरोना अस्पतलका फोकल पर्सन डा।सुर्दशन थापाले रातोपाटीलाई जानकारी दिए । उनीसँगै कोरोना अस्पतालमा मृत्यु हुनेको संख्या ९ पुगेको छ भने लुम्बिनी प्रदेशिक अस्पतालमा ३ जनाको मृत्यु भएको रेकर्ड छ । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ शाहले निजी अस्पतालमा मृत्यु भएकाहरुले विवरण अझै स्वास्थ्य कार्यालयमा नपठाएको बताए । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार