बाँकेमा ससुराले ज्वाइँलाई विषालु फल खुवाएर हत्या गरेको आरोप

दाङ । बाँकेमा सुसुराले ज्वाइँलाई जबरजस्ती विषादी फल खुवाएर हत्या गरेको आरोप लागेको छ।नेपालगञ्ज उपमहानगरपालिका वडा नं.१७ परस्पुरका २३ वर्षीय शत्रुहन रैदासलाई ससुरा नेपालगञ्ज वडा नं.२० नटनपुरुवाका नरेश चमारले कुटपिटपछि जबरजस्ती कन्डाई नामक विषादी फल पानीमा घुलाएर खुवाएको आरोप लागेको हो।

शत्रुहन शनिबार दिउँसो आफ्नी श्रीमती लिन माइती घर गएको समयमा उनीमाथि ससुरा चमारले कुटपिट गरी पानीमा घोलेर जबरजस्ती विषादी फल कन्डाई खुवाएको भन्ने खुल्न आएको ५ नं. प्रदेश प्रहरी प्रवक्ता एसएसपी राजकुमार बैदवारले बताए।

उक्त विषादी फल खुवाएपछि गम्भीर अवस्थामा पुगेका शत्रुहनको बारेमा सुसुराली गाउँका स्थानीय गाउँलेले शत्रुहनको परिवारमा खवर गरेपछि बल्ल उनको उद्धार भएको थियो। घर परिवारका मानिसहरूले शत्रुहनलाई आइतबार विहान २:४० बजे नेपालगञ्ज नर्सिङ होममा उपचारका लागि पुर्‍याएका थिए। उनको उपचारका क्रममा उनको ३:१० मा मृत्यु भएको एसएसपी बैदवारले जानकारी दिए।

ज्वाइँलाई कुटपिट गरी जबरजस्ती कन्डाई नामक विषादी फल खुवाएको अभियोगमा उनका ससुरासहित माइती घरका पाँच जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी सुवास खड्काले सेतोपाटीलाई बताए।

ज्वाइँ पक्षधरले ससुरालगायतका व्यक्तिले कुटपिट गरी विषादी फल खुवाएको भन्ने आरोपका आधारमा उनीहरूलाई पक्राउ गरिएको डिएसपी खड्काले बताए। अनुसन्धान जारी रहेको तथा अनुसन्धानपछि मात्रै के भएको हो भन्न मिल्ने उनले बताए।

त्यस्तै, बाँकेमै कन्डाई नामक विषादी फल खाएर अर्का एक युवाको पनि मृत्यु भएको छ। जिल्लाको जानकी गाउँपालिका वडा नं.६ कोठारपुरका २३ वर्षीय शोभाराम बढैले शनिबार बेलुका ९ बजेतिर मृत्यु भएको हो।

श्रीमतीसँग सामान्य घरायसी विवाद हुँदा उनले कन्डाई फल खाएका थिए। गम्भीर अवस्थामा उनलाई नेपालगञ्ज नर्सिङ होममा उपचारका लागि लगिएकोमा आइतबार विहान ३ बजे मृत्यु भएको थियो। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार