सिन्धुपाल्चोक घुम्थाङ पहिरोः शव नभेटिएपछि बेपत्ताका आफन्तले थाले किरिया

सिन्धुपाल्चोक । घुम्थाङ पहिरोमा बेपत्ता भएकाहरु जीवितै भेटिने सम्भावना सकिएपछि उनीहरुका आफन्तले काजकिरिया थालेका छन्। पहिरोमा बेपत्ता भएका १५ जनाका परिवारका सदस्यले उनीहरुलाई मृतक मानेर अन्तिम संस्कार थालेका हुन्।

परम्पराअनुसार बेपत्ताहरुको कुशको शव बनाइ दाहसंस्कार गरेर परिवारजन किरियामा बसेका घटनास्थल रहेको बाह्रविसे नगरपालिका–७ का वडाध्यक्ष मिनबहादुर श्रेष्ठले बताए। ‘बेपत्ताको सास त के लाससमेत भेटिने सम्भावना नरहेपछि परिवारले किरिया थाले,’ उनले भने। शव भेटिएका १६ र बेपत्ता १५ समेत ३१ जनाकै काजकिरिया बिहीबार सकिने उनले जानकारी दिए।

गत भदौ २७ गते गाउँमाथिको पहाडबाट खसेको ढिस्कोले बिशाल पहिरो निम्त्याउँदा बाह्रविसे नगरपालिका–७ घुम्थाङस्थित भिरखर्क, भिरथाप्लो र नागपुजे बस्तीका ३२ घर बगाएको थियो। अरु ५० भन्दा बढी घर क्षतिग्रस्त बनाएको थियो। सोही स्थानमा गत हिउँदमा सुख्खा पहिरोसमेत गएको थियो। हिउँदको त्यो सुख्खा पहिरोलाई नजरअन्दाज तीन बस्ती मशानघाटमा परिणत भएका थिए।

पहिरोमा ३१ बेपत्ता भएकोमा १६ को मात्रै शव फेला प¥यो। बेपत्ता भएका १५ भेटिएनन्। बेपत्ता सबै नागपुजे हगामे टोलका हुन्। नौ घरधुरीको हगामे टोल नै पहिरोले बगाएर भोटेकोसी नदीमा हेलिदिएको थियो। टोलको झण्डै तीन सय मिटरको दुरीमा भोटेकोसी छ। घरसँगै पहिरोले बेपत्ताहरुलाई पनि भोटेकोसीमा हेलिदिएको हुन सक्ने आशंका गरिँदै आएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी प्रकाश सापकोटाले बेपत्ताहरु भेटिने सम्भावना नरहेको बताए। ‘लगातार सातासम्म बस्ती रहेको पहिरो क्षेत्रदेखि भोटेकासी किनारसम्म एक्स्याभेटर लगाए खोजी गर्दासमेत बेपत्ता भेटिएनन्,’ उनले भने। उनका अनुसार घटनाकै दिन सोही टोलका दुईको शव भोटेकोसीमा भेटिएकाले बेपत्ताहरुलाई पनि नदीले बगाएको अनुमान गरिएको हो।

स्थानीय रेशम प्रधानले एकै परिवारका ६ सदस्यसम्म पहिरोमा बेपत्ता भएको बताए। रेसबहादुर नेवार, दीलमाया श्रेष्ठ, रीता श्रेष्ठ, डानियल श्रेष्ठ, नादान श्रेष्ठ, अमृत श्रेष्ठ, मनिषा श्रेष्ठ, रियाशु शिवभक्त, पदमकुमारी श्रेष्ठ, रामकुमारी श्रेष्ठ, लालबहादुर श्रेष्ठ, बुद्धलक्ष्मी श्रेष्ठ, लक्ष्मी श्रेष्ठ तथा एक नवजात शिशु र पाहुना आएकी एक महिला पहिरोमा हराइरहेको प्रहरीले जनाएको छ।nagariknews.nagariknetworkबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार