चितवनमा पाटेबाघको आक्रमणबाट एकको मृत्यु

चितवन । पाटेबाघले आक्रमण गर्दा चितवनमा सोमबार एक जनाको मृत्यु भएको छ । चितवन निकुञ्जसँग जोडिएको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका रत्ननगर–६ का ६० वर्षीय बगुना चौधरीलाई बाघले आक्रमण गरेको निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक रामले जानकारी दिए ।

एक महिनायता चितवन निकुञ्जनजिक बाघले आक्रमण गर्दा स्थानीयको ज्यान गएको यो तेस्रो घटना हो । शनिबार मात्रै निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने पटिहानीको बेलसहर मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका एक स्थानीयको बाघको आक्रमणमा परेर ज्यान गएको थियो । भदौ २२ मा पनि बेलसहर आडकै बाटुलीपोखरी वनमा घाँस काट्न गएका एक स्थानीयले बाघले आक्रमण गर्दा ज्यान गुमाएका थिए ।

कुमरोज वनमा चित्तल मारेर खाँदै गरेको बाघसँग बगुनाको जम्काभेट भएको हुन सक्ने सहायक संरक्षण अधिकृत अशोक रामले बताए । ‘पटिहानी क्षेत्रमा बाघले अरू सिकार गर्न नसकेर अशक्त भई मान्छे मारेको पाइएको थियो । त्यसलाई हामीले नियन्त्रणमा लियौं । कुमरोजमा पनि सिकार गरेर खाँदै गरेको अवस्थामा मान्छेसँग जम्काभेट भएको देखिन्छ,’ उनले भने । चितवन निकुञ्जमा गत वर्ष हात्ती र गैंडाको आक्रमणमा परी मध्यवर्ती क्षेत्रका पाँच जनाको निधन भएको थियो ।ekantipurबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार