नक्कली नम्बर प्लेट राखेर सवारीसाधन चलाउने पक्राउ

काठमाडौं । जोर बिजोर प्रणालीबाट मुक्त हुन नक्कली नम्बर प्लेट बनाएर सवारीसाधन चलाउने व्यक्ति पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त, कालिमाटीले जोर र बिजोर मिति अनुसार नक्कली नम्बर प्लेट फेर्दै सवारीसाधन चलाउने व्यापारीलाई त्रिपुरेश्वरबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ललितपुरको हात्तीवन बस्ने व्यापारी सुरेन्द्रकुमार अग्रवाल छन्। उनलाई वृत्तले विशेष सूचनाको आधारमा पक्राउ गरेको प्रहरी नायब उपरीक्षक (डिएसपी) अपिलराज बोहराले जानकारी दिए। उनी बैशाली प्रोडक्सन र खोली इम्पोरियोममा आबद्ध छन्। प्रहरीले नक्कली नम्बर प्लेट प्रयोग गरिएका दुई वटा सवारीसाधन समेत नियन्त्रणमा लिएको छ। डिएसपी बोहराका अनुसार अग्रवालले बा ११ च ६५५० नम्बरको गाडी बिजोर दिनमा चलाउन बा ११ च ६५५७ नक्कली नम्बर प्लेट राखेर चलाउने गरेका थिए। त्यस्तै अर्को बा ७ च ४४५४ नम्बरको गाडी बिजोर दिन चलाउन बा ७ च ४४५५ नम्बरको नक्कली प्लेट राखेका थिए।

दुबै गाडीलाई प्रहरीले बोर्ड ट्रेड सेन्टर र चाइना टाउनको पार्किङस्थलबाट बरामद गरेको हो। उनले यस्तो किन गरेका हुन् भन्नेबारेमा भने अहिले खुल्न नसकेको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौरले जानकारी दिए।प्रारम्भिक अवस्थामा उनका अपराधिक गतिविधि भने नदेखिएको राठौरले बताए। उनीमाथि थप अनुसन्धान गर्न यातायात व्यवस्था कार्यालयमा बुझाइएको छ। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार