गोरखा अस्पतालमा १८ महिनापछि शल्यक्रिया सेवा सुचारु

गोरखा । गोरखा अस्पतालमा १८ महिनादेखि रोकिएको शल्यक्रिया सेवा मंगलबारबाट सुरु भएको छ । हाल अस्पताल सञ्चालन भइरहेको आवास गृहमा नै शल्यक्रिया कक्ष (अप्रेसन थिएटर) बनाई सेवा सञ्चालन गरिएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले बताए ।

उनका अनुसार मंगलबार बारपाक सुलिकोट गाउँपालिकाकी गर्भवती महिलाको शल्यक्रिया गरी बच्चा निकालिएको छ । आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य छ । ‘ठाउँ अभावले समान्य शल्यक्रिया सेवा दिन पनि सकेका थिएनौं,’ उनले भने, ‘अहिले अस्पताल सञ्चालन गर्दै आएको आवास गृहमा अस्थायी रूपमा सेवा सुरु गरेका हौं ।’

०७२ वैशाख १२ को भूकम्पले क्षति पुर्‍याएको पुरानो भवन ०७६ वैशाखमा भत्काएपछि सेवा बन्द भएको थियो । त्यतिबेलासम्म चर्किएकै भवनमा सेवा सञ्चालनमा थियो । हाल अस्पताल भवन निर्माणाधीन छ । ‘हामीसँग दिनमा ४/५ जनाको शल्यक्रिया गर्न सक्ने जनशक्ति छ, भवन भत्काउनुभन्दा पहिले पनि यो सेवा थियो, भवन भत्काएपछि ठाउँ अभावले सेवा दिन सकेका थिएनौं,’ उनले भने, ‘अब नयाँ भवन बनेपछि सेवाले निरन्तरता पाइरहन्छ ।’

यस अवधिमा अस्पतालले सुत्केरीलाई समेत अन्यत्र रेफर गर्दै आएकाले सुत्केरी हुनेको संख्यासमेत घटेको थियो । जटिल खाले शल्यक्रिया गर्नुपरे काठमाडौं, चितवनका अस्पताल जानुपर्ने बाध्यता स्थानीयलाई थियो । अब सामान्य शल्यक्रियाका लागि जिल्ला बाहिर जानु नपर्ने अस्पतालले जनाएको छ । ‘कोभिडका कारण बाहिरी जिल्ला जान पनि समस्या छ, हामीले तत्कालका लागि आकस्मिक शल्यक्रिया सेवा सुरु गरेका हौं,’ उनले भने ।

विशेषज्ञ दरबन्दीको अभाव झेल्दै आएको अस्पतालमा चार जना चिकित्सक आएसँगै अहिले सेवा विस्तार गरिएको उनले बताए । एमडीजीपी ९इमर्जेन्सी विशेषज्ञ०, जनरल फिजिसियन, प्रसूति तथा स्त्री रोग विशेषज्ञ र मानसिक रोग विशेषज्ञ हाल कार्यरत रहेका उनले बताए ।ekantipurबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार