काठमाडौँ । भारतले नेपालका विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थालाई बस तथा एम्बुलेन्स उपहार दिएको छ । महात्मा गान्धीको १५१औँ जन्म जयन्तीको अवसरमा नेपालका लागि भारतीय राजदूतावासले सो बस तथा एम्बुलेन्स प्रदान गरेको दूतावासद्धरा जारी विज्ञप्तिमा उल्लेख छ ।
स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका विभिन्न सरकारी, गैरसरकारी एवम् गैरनाफामूलक संघ संस्थाहरुलाई ४१ वटा एम्बुलेन्स र ६ वटा बस उपहार स्वरुप प्रदान गरेको छ । यी संघ संस्थाहरु विभिन्न ३० वटा जिल्लाका रहेका छन् । विभिन्न क्षेत्रमा आधारभूत स्वास्थ्य पहुँच विस्तार गर्न हेतु दूतावासले विगत लामो समयदेखि नेपालका सरकारी तथा गैरनाफामूलक संस्थाहरुलाई हरेक वर्ष एम्बुलेन्स तथा विद्यालयका लागि बस उपहार स्वरुप प्रदान गर्दै आएको छ ।
भारतले सन् १९९४ देखि हालसम्म लगभग ८२३ वटा एम्बुलेन्स उपलब्ध गराइसकेको छ । त्यस्तै हालसम्म १६० वटा स्कूल बस वितरण गरी सकेको छ । एडभान्स लाइफ सर्पोर्ट अन्तर्गतका एम्बुलेन्समा ट्राभलिङ्ग भन्टिलेटर, इसिजि तथा अक्सिजन मोनिटर, अटोमेटेड एक्सटर्नल डिफिब्रिलेटर, नेबुलाइजर सेट, रक्तचाप जाँच उपकरण, स्टेथोस्कोप, एम्बु ब्याग, ट्युब तथा काथेटर, व्हीलचेयर, स्ट्रेचर, रेडियो सञ्चार यन्त्र तथा फोर जी मोबाइल डिभाइस पनि रहेको छ ।
बेसिक लाइफ सर्पोर्ट एम्बुलेन्समा भन्टिलेटरबाहेक अन्य सबै सुविधा रहेको छ । कमन लाइफ अन्तर्गतका एम्बुलेन्समा भने फोर व्हील प्रणाली जडान भएकाले यी एम्बुलेन्सहरु पहाडी तथा हिमाली क्षेत्रका लागि उपयुक्त हुने दुतावासले जनाएको छ । रातोपाटीबाट साभार