पाउरोटी उद्योगसहित दुई पसलमा प्रशासनको ताला

उदयपुर । उदयपुर सदरमुकाम गाईघाटमा सञ्चालित एक पाउरोटी कारखानालगायत दुई उद्योगमा प्रशासनले बिहीबार ताला लगाएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रक डिभिजन कार्यालय गाईघाटले छड्के बजार अनुगमन गर्दा मापदण्डविपरित उद्योग चलाइएको र आवश्यक कागजात नभएको पाएपछि ताला लगाएको हो।

त्रियुगा नगरपालिका १२ डिएमगेटमा सञ्चालित रुक्सना पाउरोटी उद्योगमा अनुगमन टोलीले ताला लगाएको हो। अनुगमनको क्रममा उद्योग सञ्चालन अनुमतिपत्र नभएको तथा सरसफाई नगरेको र उत्पादित सामग्रीमा लेबल नटाँसेकोजस्ता कानुनी प्रक्रिया पुरा नभएको पाइएकाले टोलीले उद्योगमा ताला लगाएको खाद्य प्रविधि तथा गुण नियन्त्रक डिभिजनका निमित्त प्रमुख रमेश दाहालले बताए।

दाहालले यसअघिको पटक पटकको अनुगमनमा उद्योगले कमजोरी गरेको पाइएपछि चेतावनी दिँदै उद्योग सञ्चालकलाई आवश्यक कानुनी प्रक्रिया पुरा गर्न निर्देशन दिइएको भए पनि नटेरेपछि सिल गर्नु परेको बताए। ‘हामीले यसअघिको अनुगमनमा पनि कमजोरी भेटेर चेतावनी दिएर छाडेका थियौं’ दाहालले भने ‘तर, अहिले अनुगमन गर्दा पनि सुध्रेको अवस्था देखिएन। त्यसैले सिल गर्नु परेको हो।’

सहायक प्रमुख जिल्ला अधिकारी शसीकुमार लम्साल, प्रहरी, नगरपालिका र घरेलु उद्योगका प्रतिनिधिसहितको टोलीले गरेको अनुगमनमा त्रियुगा ११ पुरानो गाईघाटस्थित एक चिसो पेय पदार्थको डिलरमा पनि ताला लगाएको छ। बहुराष्ट्रिय कम्पनी कोेकाकोलाको डिलर रहेको सो फर्मले इजाजतपत्र देखाउन नसकेको सरसफाईजस्ता मापदण्ड पुरा गरेको नपाइएपछि ताला लगाइएको दाहालले बताए। उनीहरुलाई ३ दिनभित्र आवश्यक कागज र आधार प्रमाणसहित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न निर्देशन दिइएको दाहालले बताएका छन्।

चाडपर्व नजिकिएसँगै डिभिजनले बजार अनुगमन थाल्ने क्रममा बिहीबार छड्के अनुगमन गरेको हो। उपभोक्ताको हितलाई ध्यानमा राखेर बजार अनुगमन गर्न तैनाथ डिभिजनले चाडपर्व नजिकिएपछि विशेष चासोका साथ अनुमगन कार्यलाई कडाई गर्ने योजना बनाएको छ। बिगतमाजस्तो नभएर अहिले बाणिज्य विभागले खाद्य प्रविधि तथा गुण नियन्त्रक डिभिजनलाई उपभोक्ता हितविपरित गर्नेलाई कारबाही गर्ने पूर्ण अधिकार दिएकाले कसैको मुख नहेरी कारबाही गरिने प्रतिबद्धता दाहालले जनाएका छन्।

होटल, खाद्य थोक विक्रेता, पेय पदार्थ, मासु पसल, खाजा घर, उद्योग तथा कल कारखाना सबैमा अनुगमन गरिने भन्दै उनले नियमविपरित र मापदण्ड पुरा नगरेको पाइएमा कडा कारबाही गर्ने सरकारले बाटो खोले अनुसार आफू अघि बढ्ने दृढता उनले लिएको छ। nagariknews.nagariknetworkबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार