एसपी रानाको कमाण्डमा बाँके प्रहरी: साढे ३ महिनामै ३६१ अपराधी पक्राउ

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको प्रमुखमा अहिले प्रहरी उपरीक्षक (एसपी) ओमबहादुर राना छन् । उनले बाँके प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेको साँढे तीन महिना पुगेको छ ।

गत असार ५ गते उनी जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी प्रमुखका रुपमा सरुवा भईआएका थिए । उनको कमान्डमा रहेको बाँके प्रहरीलाई अहिले एकपछि अर्को सफलता मिल्दै गएको छ ।एसपी रानाले बाँकेको यो साढे तीन महिने कार्यकालमा अत्यन्तै महत्वपूर्ण कार्यहरु सम्पन्न गरेका छन । एसपी रानाको कमान्डमा रहेको बाँके प्रहरीले यो साढे तीन महिने अबधिमा विभिन्न अपराधमा संलग्न ठूला मोष्ट वान्टेड अपराधीदेखि लिएर विभिन्न मुद्दामा फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्न सफल भएको छ ।

राना जिल्लामा हाजिर भएको चार दिन भित्रै विगत १० बर्ष पहिला सशस्त्र भूमिगत समूह तराई जनतान्त्रिक मुक्ति मोर्चा (ज्वाला सिंह) मा आवद्ध रही जिल्लामा हत्या, अपहरण, ज्यान मार्ने उद्योग, बम बिस्फोट तथा फिरौती रकम माग गर्ने जस्ता विभिन्न आधा दर्जन धेरै अपराधमा संलग्न रही फरार रहेका मोष्ट वान्टेड डुडुवा गाउँपालिका ३ का धर्मा सिंह भन्ने राजेश यादवलाई प्रहरीले असार ८ गते पक्राउ गर्न सफल भएको थियो ।

त्यसैगरी, प्रहरीले सवारी ज्यान मुद्दा दर्ता भई फरार रहेका, बम विष्पोटक मुद्दामा फरार रहेका, जबर्जस्ती करणी उद्योग मुद्दामा फरार रहेका, ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका, नागरिकता किर्ते मुद्दाका फरार, लागू औषध ब्राउन सुगर कारोबारी र प्रयोगकर्ता, जालसाझि मुद्दाका फरार, गौबध, अपहरण, शरिर बन्धक र आर्थिक लाभ मुद्दाका फरार दर्जनौं प्रतिवादीहरु पक्राउ गरेको छ ।

सोमबार मात्रै बाँके प्रहरीले मान्छे मारेर फरार भएका एक अपराधीलाई ७ बर्षपछि पक्राउ गरेको छ । साबिकको उढरापुर गाबिस वडा नं. ९ का २० वर्षीय गोलु चमारलाई २०७० साल असोज १ गते हत्या गरी फरार रहेका साविक उढरापुर गा.वि.स. वडा नं. ६ हाल खजुरा गाउँपालिका वडा नं. ६ का २८ वर्षीय बब्लु वेहना भन्ने रहमत अलीलाई प्रहरीले ७ बर्षपछि सोमबार पक्राउ गर्न सफल भएको हो ।

एसपी राना बाँकेमा हाजिर भएको असार ५ गतेदेखि असोज १९ गते सम्मको यो साढे तीन महिने अवधिमा ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान, लागू औषध, जबर्जस्ति करणी लगायतका मुद्दामा फरार रहेका लगायतका ३६१ अपराधी पक्राउ परेका छन । उनीहरुबाट ११ लाख ६८ हजार ५ सय ८६ रुपैयाँ जरिवाना प्रहरीले असुल गराएको छ । उनीहरु सबैको कैद सजाय ९८ बर्ष २ महिना २० दिन रहेको बाँके प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार गत आर्थिक वर्ष २०७६र०७७ को एक वर्ष अबधिमा ५४ जना फरार अपराधी पक्राउ गरिएकोमा चालु आर्थिक वर्ष २०७७र०७८ को यो अवधिमा ३६१ जना फरार अपराधी पक्राउ परेका हुन ।एसपी रानाले आफू बाँकेमा सरुवा भएर आउने बित्तिकै हरेक नागरिकलाई छिटो, छरितो, सरल, समान र नागरिकमुखी सेवा प्रवाह गर्ने बुँदालाई मुख्य राखेर विभिन्न १७ बुँदे कार्ययोजना अगाडी सारेका थिए ।

बाँके प्रहरी प्रमुखको रुपमा साढे तीन महिना भित्र भए गरेका कामहरु हेर्दा एसपी रानाले आफुले ल्याएका १७ बुँदे कार्ययोजना कार्यान्वयन सफलताका साथ सम्पन्न गर्ने देखिन्छ । तर, बाँके जिल्ला भारतीय खुला सिमासङ्ग जोडिएको हुँदा यता अपराध गरेर बोर्डर पारी भाग्ने, उता अपराध गरेर यता लुक्न आउने अपराधीहरु, गुण्डागर्दी, हत्या, तस्करी, प्राकृतिक दोहन लगायतका समस्याका चुनौती पनि रानासमक्ष छन । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार