दमौलीस्थित जिल्ला कारागारमा आइसोलेसन कक्ष निर्माण

तनहुँ । तनहुँको सदरमुकाम दमौलीस्थित जिल्ला कारागारमा १५ श्ययाको आइसोलेशन कक्ष निर्माण गरिएको छ ।

कारागारको पुरानो भवनमा आइसोलेसन कक्ष निर्माण गरिएको कारागार प्रशासनले जनाएको छ । कैदीबन्दीमा कोरोना भइहालेमा बाहिर लगेर राख्दा भाग्न सक्ने खतरा रहेकाले कारागारभित्रै आइसोलेसन निर्माण गरिएको कारागारका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले जानकारी दिए । पुरानो भवनको दुई कोठालाई हालै आइसोलेसन निर्माण गरिएको छ । उनले भने, ‘आइसोलेसन निर्माणपश्चात सुरक्षाका दृष्टिले पनि सहज भएको छ ।’

पच्चीस जना क्षमताको सो कारागारमा हाल १३२ कैदी र ६४ जना थुनुवा गरी १९६ कैदीबन्दी रहेका छन् । कारागार परिसरमा तीन भवन निर्माणपछि कैदीबन्दीलाई सजिलो भएको छ । ठाउँको अभावमा चिसो भूइँमा सुत्नुपर्ने बाध्यताको अन्त्य भएको छ । पुरानो भवनमा १०७ जना र अन्यलाई नयाँ भवनमा स्थानान्तरण गरिएपछि कैदीबन्दीलाई अहिले खाना बस्न, सुत्न र शौचालय प्रयोगमा सहज भएको छ । कारागार परिसरमा निर्माण गरिएको कार्यालय भवन, सुरक्षा ब्यारेक र बन्दीगृह गरी तीन वटा भवन भ्याटबाहेक रु छ करोड ४४ लाखको लागतमा नयाँ भवन निर्माण गरिएको हो ।

नयाँ भवन निर्माणपछि ८० जनाभन्दा बढी कैदीबन्दी राख्न सकिने क्षमताको बन्दीगृह रहेको कारागारका सूचना अधिकारीले जानकारी दिए । पछिल्लो समय जिल्ला अदालतबाट फैसला भई विभिन्न मुद्दाका फरार व्यक्तिलाई पक्राउ गरी कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेकालाई कारागार पठाउन थालेपछि कैदीबन्दीको सङ्ख्या बढेको हो । कारागारमा रहेका कैदीबन्दीमध्ये अधिकांशले मुढा बुनेर मासिक सात हजारदेखि १० हजार रुपैयाँसम्म कमाउने गरेका छन् । बन्दाबन्दीका कारण मुढा बुन्न प्रयोग गरिने सामग्री ढुवानी हुन नसक्दा उनीहरुले मुढा बुन्न पाएका थिएनन् ।

कारागार भवनमा पुस्तकालय, भान्छाघर, डाइनिङ हल, सोलारको उज्यालो, एक गोल घर, चिसो तातो पानीले नुहाउने व्यवस्था, तीन सुरक्षा पोष्टलगायतका व्यवस्था रहेको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ भवन गोरखाद्वारा भवन निर्माण गरिएको हो । कारागारमा रहेका कैदीबन्दीमध्ये केही दिन अघि पाँच जनामा ज्वरो आउँदा कोभिड–१९ शङ्का लागि परीक्षण गर्दा नेगेटिभ आएलगत्तै त्यसपछि सर्तकता अपनाइएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए । जिल्ला कारागार प्रशासनले निर्माण सम्पन्न नयाँ भवनको दुई कोठालाई क्वारेन्टिन निर्माण गरेको छ । दैनिक नयाँ कैदीबन्दी थपिँदै जान थालेपछि सुरक्षालाई विचार गरी क्वारेन्टिन निर्माण भएको हो ।

नयाँ आएका कैदीबन्दीलाई १४ दिन क्वारेन्टिनमा राखेर मात्रै प्रवेश गराउन थालिएको सूचना अधिकारीले बताए । हाल उक्त क्वारेन्टिनमा आठ जना कैदीबन्दी रहेका छन् । रासस/नागरिक खबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार