अस्पतालबाट डिस्चार्ज भएपछि ट्रम्पले भने स् कोरोनादेखि पटक्कै नडराउनुस् !

काठमाडौँ । कोरोना भाइरसको संक्रमण भएपछि अस्पताल भर्ना भएका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प डिस्चार्ज भइसकेका छन्।अस्पतालमा तीन दिनको बसाइपछि उनी नाटकीय ढंगले सोमबार साँझ निवास ह्वाइट हाउस फर्केका हुन्।

बिबिसीका अनुसार अस्पतालबाट निस्किनुअघि ट्रम्पले ट्विट गर्दै भने, ‘म चाँडै फेरि चुनाव प्रचारप्रसारमा लाग्नेछु।’ त्यसअघि ट्रम्पले अर्को ट्विट गरेका थिए, ‘म एकदम आराम महसुस गरिरहेको छु। कोरोनाबाट फिटिक्कै नडराउनुस्, यसलाई आफूमा हावी हुन दिन हुँदैन।’

आगामी नोभेम्बर ३ मा अमेरिकाको नयाँ राष्ट्रपति चयनका लागि चुनाव हुँदै छ। जसमा रिपब्लिकन पार्टीका ट्रम्पसँग डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन प्रतिस्पर्धा गर्दै छन्।चुनावी अभियान सञ्चालन गरिरहेकै बेला वर्तमान राष्ट्रपति एवं उम्मेदवार ट्रम्प र उनकी पत्नीलाई समेत गत शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो। उनकी पत्नी ह्वाइट हाउसमै आइसोलेसनमा बसिरहेका भए पनि ट्रम्पलाई ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि त्यही साँझ उनी वासिङ्टनस्थित सैनिक अस्पताल भर्ना भएका थिए।

तर उनको स्वास्थ्य सुधार हुँदै गएको भन्दै चिकित्सकले ह्वाइट हाउस फर्किन अनुमति दिएका हुन्। तथापि उनी पूरै निको भइनसकेकाले ह्वाइट हाउसमै उनको उपचार जारी रहने चिकित्सकले बताएका छन्।सोमबार साँझ ह्वाइट हाउस जान अस्पतालबाट निस्किँदै गर्दा ट्रम्पले आफ्ना नागरिकलाई भने, ‘म अहिले यति स्फूर्ति महसुस गरिरहेको छु कि जति २० वर्षको हुँदा पनि गरेको थिइनँ।’nagariknews.nagariknetworkबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार