सीमा क्षेत्रबाट चार लाख बढीको सामान बरामद

मोरङ । भारतसँग सीमा जोडिएको मोरङको विभिन्न स्थानबाट अवैधरूपमा ओसारपसार गर्न लगेको खाद्यान्न र लताकपडा प्रहरीले बरामद गरेको छ।

नेपाल–भारत सीमा क्षेत्र सील गरिए पनि तस्करीले खुला सीमाको फाइदा उठाउँदै दैनिक सामान ओसारपसार गरिरहेका छन्। नेपाल प्रहरीले दैनिक सामान बरामद गरे पनि चोरी, तस्करी रोकिएको छैन। प्रहरीले मोरङको विभिन्न स्थानबाट मंगलबार चोरी, तस्करी गर्दै गरेको चार लाख रुपैयाँ मूल्य बढीको खाद्यान्न र लताकपडा बरामद गरेको जनाएको छ।

धनपालथान गाउँपालिका–१ स्थित गडेरियाका श्याम मण्डलको घरबाट ९० बोरो खाने सेतो मटर भारत निकास गर्न लाग्दै गर्दा बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए। अवैधरूपमा लैजान लागेको सेतो मटरको मूल्य १ लाख ८० हजार रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ।

त्यस्तै, विराटनगर–१५ स्थित भन्सार कार्यालयको दक्षिण छेउबाट भारतबाट नेपालतर्फ चोरी तस्करी गरी ल्याइएको सामान सडक छेउमा बेवारिसे अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ। प्लाष्टिकको बोराभित्र प्याक गरी ल्याइएको जुत्ता, कपडा तथा किराना सामान बरामद गरिएको हो। प्रहरीका अनुसार उक्त प्लाष्टिकभित्रका सामानको मूल्य १ लाख २६ हजार २ सय रुपैयाँ बराबरको रहेको हो।

त्यसैगरी बुधबार बिहान विराटनगर–१४ स्थित हनुमान मन्दिर नजिकबाट प्रहरीले काजु र जिरा बरामद गरेको जनाएको छ। चोरी तस्करी गरी ल्याउँदै गरेको ९० केजी जिरा र ६० केजी काजु अन्दाजी बजार मूल्य १ लाख ८ हजार बराबर बरामद गरेको डिएसपी राईले बताए । बरामद गरिएका सबै सामान भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ।

प्रहरी मंगलबार मात्रै जहदा गाउँपालिकाबाट भारतदेखि नेपाल ल्याउँदै गरेको ठूलो परिमाणको गहुँ र नेपालबाट भारततर्फ जैजाँदै गरेको मिक्सर दाल बरामद गरेको थियो। नेपालबाट मटर, सुपारी, मरिच र भारतबाट खाद्यान्न, कपडालगायत अन्य धेरै वस्तु चोरी तस्करी हुने गरेको छ।nagariknews.nagariknetwork बाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार