बझाङमा बलात्कारको घटना मिलाउने थप एक पक्राउ

धनगढी । बझाङमा बलात्कारको घटना मिलाउने थप एक जना पक्राउ परेका छन्। १२ वर्षीया बालिका सम्झना कामीको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका राजेन्द्र बोहराले १४ वर्षीया अर्की किशोरीलाई गरेको बलात्कारको घटना मिलाउन कागज बनाउने मष्टा गाउँपालिका–२ खिकालाका बाबाजी भनिने बालम दमाई बुधबार पक्राउ परेका हुन्।

उनले गत २९ साउनमा १४ वर्षीया एक किशोरीमाथि बलात्कार भएको घटनालाई मिलापत्र गराउनका लागि कागज तयार पारेका थिए। घटना बाहिर आउन नदिन गाउँमै मिलापत्र गर्ने अन्य ६ जनालाई प्रहरी पक्राउ गरेको छ।उनीहरूले पीडित र राजेन्द्र बोहरा पक्षबीच ३१ साउनमा मिलापत्र गराएका थिए। यसअघि १९ असोजमा मिलापत्र गराउन गाउँमा पञ्च बसेको भन्दै प्रहरीले २४ वर्षीय झलक दमाई, ४५ वर्षीय लालबहादुर बोहरा, ५७ वर्षीय धनचढी बोहरालाई प्रहरी पक्राउ गरेको छ।

यस्तै, ४५ वर्षीया थमकला दमाई, ५७ वर्षीय पिरु दमाई र ५५ वर्षीय गल्फे बोहरालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए।पक्राउ परेका ७ जना प्रहरी हिरासतमा छन्। जबर्जस्तीकरणी कसूरमा प्रमाण दबाएको शीर्षकमा उनीहरूलाई कारबाही गरिने प्रहरी नायब उपरीक्षक खड्काले बताए। घटनामाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार