अव्यवस्थित सुकुम्बासी समस्या समाधान आयोगको नाममा ठगी गर्ने गिरोह पक्राउ

काठमाडौँ । अव्यवस्थित सुकुम्बासी समस्या समाधान आयोगको नाममा ठगी गर्ने गिरोहलाई कास्की प्रहरीले पक्राउ गरेको छ । कास्की प्रहरीका अनुसार उक्त गिरोहले भूमिसुधार मन्त्रीको नाम भजाउँदै ठगी गर्ने योजना बनाएको थियो ।

‘आफूहरु उक्त आयोगको पदाधिकारी हौं’ भन्दै पोखरा महानगरपालिका– १४ भोटेको चौतारामा रहेको ३०० रोपनी जग्गा सुकुम्बासीलाई बस्ती निर्माण गरिदिने प्रलोभन देखाएर ठगि गर्दै आएको कास्कीका एसपी जीवन श्रेष्ठले बताए ।तत्कालै उनीहरुले सो जग्गामा अमिन लगेर फिल्डमा नापजाँच गर्नको लागि भूमिसुधार मन्त्री समेत आएर बस्ती निर्माणको शिलान्याश गर्ने भन्दै स्थानीयलाई विश्वास दिलाएका थिए,’ एसपी श्रेष्ठले भने ।

उनीहरुले २३ जना व्यक्तिबाट सात हजारका दरले १ लाख ६१ हजार रुपैयाँ ठगी गरेको खुलेको एसपी श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । काम सम्पन्न गर्नको लागि सुकुम्वासीहरुबाट १५ हजार उठाउने सल्लाह समेत भएको अनुसन्धानबाट खुलेको छ । पक्राउ पर्नेमा कास्की माछापुच्छ्रे गाउँपालिका–९ का ३९ वर्षीय हिरा तामाङ, पोखरा महानगरपालिका–१४ का ३७ वर्षीया रीता विक, पोखरा–११ बस्ने २२ बर्षकी सोनु परियार, पोखरा–१४ का ३० वर्षीय रमेश कुमार परियार र ३५ वर्षीय ओम बहादुर सुनार छन् ।

रीता विश्वकर्माको घरबाट विभिन्न मितिमा अव्यवस्थित सुकुम्बासी आयोगको गण्डकी प्रदेश कार्य समिति प्रमुख हिरा तामाङ समेत बैठक बसी गरेको निर्णय लेखिएको डायरी बरामद भएको छ । आयोगका अध्यक्ष देवी ज्ञवालीको हस्ताक्षर भएको लेटर प्याड समेत बरामद गरिएको प्रहरीले जनाएको छ । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार