सबै देवीदेवताका शक्तिपीठहरु कात्तिक १ गतेदेखि खुल्ला हुँदै

काठमाडौं । कोभिड संक्रमणको जोखिमका कारण बन्द रहेका सबै देवीदेवताका शक्तिपीठहरु कात्तिक १ गतेदेखि खुल्ने भएका छन् । काठमाडौं उपत्यकामा रहेका गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, बंगलामुखी, मैतिदेवी, भाटभटेनी आकाशेदेवीलगायतका शक्तिपीठहरु कात्तिक एक गतेदेखि खुल्ने भएका हुन् ।

दसैँको बेला विशेष पूजाआजा हुने भएकाले पनि शक्तिपीठहरु खोल्नुपर्ने बाध्यता रहेको मन्दिर व्यवस्थापकहरु बताउँछन् । मैतिदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिका सचिव राजाराम कपालीले दसैँको बेला विशेष पूजाआजा हुने भएकाले मन्दिर खुला गर्नुपर्ने बाध्यता भएको बताए । विभिन्न गुठियारहरुको विशेष पूजा हुने र जात्रा समेत निकाल्नुपर्ने प्रचलन रहेकाले पनि पूजाका लागि खुल्ला गरिनुपर्ने उनले बताए । तर, सरकारबाट अहिलेसम्म कुनै निर्णय आइनसकेको उनले बताए ।

स्थानीय भक्तजनहरुको आग्रहमा कात्तिक एक गतेदेखि धेरै भीड नहुने गरी भक्तालुका लागि खुल्ला गरिने सचिव कपालीले बताए । गुठियारहरुसँग पनि जात्रा ननिकाल्ने तर विशेष पूजाआजा गर्ने सहमति भइसकेको उनले बताए । कोभिड १९ संक्रमणको जोखिम भएसँगै सरकारले कुनैपनि मन्दिर क्षेत्रमा भक्तालुका लागि पूजाआजा रोक्ने निर्णय गरेको थियो । यससँगै काठमाडौं उपत्यकाका मुख्य शक्तिपीठहरुमा समेत नियमित पूजाआजा बाहेकका सबै गतिविधि बन्द गरिएको छ ।

अन्य क्षेत्रलाई खुल्ला गरिएपनि मन्दिरमा धेरै भीड हुने भएकाले सरकारले अहिलेसम्म मन्दिरलाई खुल्ला गर्ने निर्णय गरिसकेको छैन । तर, अधिकांश मन्दिरहरु कात्तिक एक गतेदेखि सीमित रुपमा भएपनि खुल्ला गर्ने तयारीमा जुटेका छन् । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार