बागमती प्रदेशमा २,५५१ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसबाट बागमती प्रदेशमा २ हजार ५ सय ५१ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । प्रदेशको १३ वटा जिल्लामा यति धेरै संख्यामा स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण भेटिएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.पुरुषोत्तम सेडाइले जानकारी दिए ।

पछिल्लो समय बागमती प्रदेश कोरोना संक्रमणको इपिसेन्टरको रुपमा रहेको छ । देशभर संक्रमित हुने संख्याको आधाभन्दा बढी संख्या बागमती प्रदेशमा रहेका छन् ।स्वास्थ्य तथा जनसख्या मन्त्रालयकाअनुसार बागमती प्रदेशमा ५४ हजार ४ सय जना संक्रमित रहेका छन् । देशभर संक्रमितको संख्या १ लाख १५ हजार २ सय ३८ जना पुगेका छन् । बागमती प्रदेशमा कोरोना संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या सबैभन्दा बढी काठमाडौंमा रहेको छ । काठमाडौंमा १ हजार ३ सय ३८ जना रहेका छन् ।

काठमाडौं कोरोना संक्रमित हुने जिल्लामा पनि संख्यात्मक रुपमा सबैभन्दा अगाडि रहेको छ । सबैभन्दा कम रसुवामा १ जना, सिन्धुपाल्चोकमा २ जना तथा दोलखा र नुवाकोटमा ३÷३ जना रहेका छन् । त्यस्तै रामेछापका ४ जना, सिन्धुलीमा ११ जना र मकवानपुरमा १६ जना रहेका छन् । प्रदेशका स्वास्थ्यकर्मीमा कोरोना संक्रमित हुने दोस्रो जिल्लामा ललितपुर रहेको छ ।

सामाजिक विकास मन्त्रालयकाअनुसार ललितपुरमा मात्र ४ सय २८ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको छ । त्यस्तै चितवनमा ३ सय ६३ र भक्तपुरमा २ सय ११ जना रहेका छन् । काभ्रेमा १ सय ४२ र धादिङमा १९ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन् । मन्त्रालयकाअनुसार केही स्वास्थ्यकर्मीहरु अहिले पनि उचाररत रहेको तर धेरै जसो संक्रमणमुक्त भएर काममा फर्किइसकेका छन् । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार