चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै अस्पताल तोडफोड

सिरहा । लहानमा चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्त विरोध प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले अस्पताल तोडफोड गरेका छन् ।

प्रसूति गराउन शनिबार दिउँसो लहानस्थित डिभाइन हेल्थ केयर अस्पताल लगिएकी सुखीपुर नगरपालिका–९ बैसाखाकी २७ वर्षीया आरती साहको शल्यक्रियाका क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि अस्पताल सञ्चालक, कर्मचारी र चिकित्सकहरू बेपत्ता भएको महिलाका आफन्तले बताएका छन् । साहको मृत्युपछि उनीहरूले रातिदेखि नै प्रदर्शन गरिरहेका छन् । ‘डाक्टरले लापरबाही गरेकैले मेरी पत्नीको मृत्यु भएको हो,’ पति प्रमोद साहले भने ।

लापरबाही गर्ने चिकित्सकमाथि कारबाही गर्नुपर्ने उनको माग छ । आक्रोशित स्थानीयले आइतबार बिहान ८ देखि १० बजेसम्म पूर्व–पश्चिम राजमार्गअन्तर्गत लहानस्थित अस्पताल चौक खण्डमा यातायातसमेत अवरुद्ध गरेका थिए । स्थानीय प्रशासनले अस्पतालअगाडि सुरक्षाकर्मी तैनाथ गरेको छ । नवजात शिशु भने सकुशल छन् । उनलाई त्यहाँबाट सप्तऋषि अस्पताल लगिएको छ । ekantipur बाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार