विश्व नेत्रहीन क्रिकेट काउन्सिलको कोषाध्यक्षमा घिमिरे निर्वाचित

काठमाडौँ । नेत्रहीन क्रिकेट संघ नेपाल (क्याब) का अध्यक्ष पवन घिमिरे विश्व नेत्रहीन क्रिकेट काउन्सिल (डब्लुबिसिसी)को कोषाध्यक्षमा निर्वाचित भएका छन्। भर्चुअलमार्फत शनिबार राति भएको विश्व नेत्रहीन क्रिकेट काउन्सिलको २२औं वार्षिक साधारणसभा तथा निर्वाचनले घिमिरेलाई कोषाध्यक्ष पदमा निर्वाचित गराएको हो। उक्त पदमा घिमिरेले आफ्ना प्रतिद्वन्द्वी दक्षिण अफ्रिकाका मनी मोतीलाललाई ६–३ मतले पराजित गरेका थिए।

भारत, पाकिस्तान, बंगलादेश, इङ्ल्यान्ड र वेस्ट इन्डिजले नेपालको पक्षमा मत दिएका थिए। अस्ट्रेलिया र न्युजिल्यान्डले भने दक्षिण अफ्रिकाका मनीलाई मत दिएको नेत्रहीन क्रिकेट संघ नेपालले जनाएको छ। यसअघि सन् २०१८ मा नेपालमै सम्पन्न निर्वाचनमा पनि घिमिरे डब्लुबिसिसीको कोषाध्यक्ष निर्वाचित भएका थिए।

त्यस्तै पाकिस्तानका सइद सुल्तान साह विश्व नेत्रहीन क्रिकेट काउन्सिलको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। उनी तेस्रो पटक यो पदमा निर्वाचित भएका हुन्। साह यसअघि सन् २०१२–१४ र २०१४–०१६ को दुई कार्यकालमा अध्यक्ष थिए।

उनको नेतृत्वको कमिटीले दुई वर्षसम्म काम गर्नेछ। वेस्ट इन्डिजका भवानीप्रसाद पहिलो उपाध्यक्षमा र भारतका रजनीश हेनेरी दोस्रो उपाध्यक्षमा निर्वाचित भएका छन्। साधारणसभाले अस्ट्रेलियाका रेयमन मोक्सलेलाई महासचिवमा चयन गरेको छ। नवनिर्वाचित कमिटीको पहिलो बैठकले भारतमा सन् २०२२ को सुरुआतमै तेस्रो ट्वान्टी–२० विश्वकप आयोजना गर्ने निर्णय गरेको छ।

साथै उक्त बैठकले सन् २०२१ को अन्त्यमा नेपाल, पाकिस्तान र भारतबीच महिलाको त्रिदेशीय क्रिकेट शृंखलाको समेत आयोजना गर्ने निर्णय गरेको छ। यद्यपि, त्रिदेशीय शृंखलाको स्थान भने तय भएसकेको छैन। विश्व नेत्रहीन क्रिकेटको प्रशासकीय निकाय विश्व नेत्रहीन क्रिकेट काउन्सिल(डब्लुबिसिसी)मा नेपालसहित कुल १० पूर्ण सदस्य राष्ट्र रहेको छ। nagariknews.nagariknetwork बाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार