पाँचथरमा पटकाबाट आगो सल्किँदा एक घर जल्यो

काठमाडौँ । पाँचथरको हिलिहाङ गाउँपालिका–३ पञ्चमीस्थित तुम्बुङमा गए राति एक व्यक्तिको घर आगलागी भएको छ । स्थानीय शर्ण योङहाङको घर पूर्णरूपमा जल्दा ५ लाख ८६ हजार रुपैयाँबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।

तिहारमा पड्काइएको पटकाबाट आगलागी सुरु भएको थियो । स्थानीय प्रहरी चौकी गोपेटारबाट गएको टोलीले चार घण्टापछि आगो नियन्त्रणमा लिएको प्रहरी निरीक्षक विश्वकर्माले बताए । यस्तै आइतबार बिहान विद्युत् ‘सट’ भएर आगो लाग्दा पाँचथरको मिक्लाजुङ गाउँपालिका–६ मेवाखोलामा धनराज लिम्बूको घरमा आगलागी हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको छ ।

आगलागीबाट अन्नपात, लत्ताकपडा, पाँच तोला चाँदी, १० हजार नगदसहित घर पूर्णरूपमा जलेर नष्ट हुँदा ३ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय रविबाट खटिएको प्रहरी टोली र स्थानीयको सक्रियतामा दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार