१६ वर्षपछि सुरक्षाकर्मी हौं भन्दै डाका गर्ने पक्राउ

काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले डाका मुद्दाका फरार रहेका एकजनालाई १६ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरका जगन्नाथ ढकाल छन् । उनलाई महाशाखाको टोलीले हेटौडाबाट पक्राउ गरेको जनाएको छ ।

ढकाल समेतका व्यक्तिहरुको समूहले २०६१ असोज ७ काठमाडौंको जडिवुटीमा पीडितलाई नियन्त्रणमा लिई मुखमा टेप लगाई बोल्न कराउन नदिई जवरजस्ती भ्यानमा राखी एकान्तस्थानमा लगेर डकैत गरेको थियो ।

सोही समयदेखि ढकाल फरार थिए । उनी विदेशमा गई बसेको र पछिल्लो समय नेपाल आएर लुकीछिपी बसेको जानकारी पाएपछि महाशाखाको टोली र इप्रका मशुपतिनगरबाट संयुक्त टोली खटिएको थियो ।

ढकाललाई मकवानपुरको हेटौडा उपमहानगरपालिका ७ नागसोतीबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि आजै काठमाडौं जिल्ला अदालत पठाइएको महाशाखाका एसपी इश्वर कार्कीले जानकारी दिए । ढकालसहितको समूहले १६ वर्षअघि नारायण खनाललाई आफूहरु सुरक्षाकर्मी हौं भन्दै नियन्त्रणमा लिएर डाका गरेका थिए ।

त्यसबेला खनालको व्यागमा रहेको १० लाख २५ हजार नगद समेत लुटेको थियो । सो घटनाको अनुसन्धानको क्रममा उक्त घटनामा जगननाथ ढकाल समेत ११ जना व्यक्तिहरुको संलग्नता रहेको खुल्न आई प्रतिवादी कायम भएको थियो ।

२०६३ साल फागुन १३ गतेको पुनरावेदन अदालत पाटनको आदेशले ढकाललाई थुनामा राख्ने आदेश भएपछि ढकालले तारेख गुजारी बसेका थिए । २०६४ साल भदौ ६ गतेको काठमाण्डौ जिल्ला अदालतको फैसलाले ढकाललाई ६ बर्ष कैद र जरिवाना एक लाख ९६ हजार ६५० सजाय हुने गरी फैसला भएको थियो । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार