बलात्कार घटना गाउँमै मिलाएको आरोपमा वडा अध्यक्षसहित ४ जना पक्राउ

बैतडी । बैतडीको सिगास गाउँपालिकाकी १८ वर्षीया किशोरी बलात्कारको घटना गाउँमै मिलाएको आरोपमा थप ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिगास गाउँपालिकाका वडा नम्बर ३ का अध्यक्ष शेरसिंह धामी, सोहि स्थानकै राजेन्द्र धामी, नरेन्द्र धामी र गोपाल धामीलाई बैतडी प्रहरीले शनिबार साँझ नियन्त्रणमा लिएको हो ।

वडा नम्बर ३ का ४ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायण प्रसाद अधिकारीले बताए । यसअघि बिहीबार सोहि घटनामा संलग्‍न भएको आरोपमा प्रहरीले सोहि ठाउँकै मनोज सिंह धामी र अमर धामीलाई नियन्त्रणमा लिएको थियो ।

उनीहरुमाथि अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । बलात्कारको घटनाका मुख्य आरोपी दिपक सिंह धामी भने फरार रहेको प्रहरीले जनाएको छ । उनी केहि समय अघि नै भारत गइसकेका छन् ।

किशोरीमाथि गत जेठमा बलात्कार भएको थियो । असार १४ गते गाउँमै १ तोला सुन किशोरीलाई दिने भन्दै तमसुक बनाएर गाउँमै मिलापत्र गरिएको थियो । पीडित पक्षलाई सुन नदिएपछि गत बुधबार घट्ना बाहिर आएको हो । ekantipurबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार