
काठमाडौं । बुधबार राति सव डिभिजन वन कार्यालय उदयपुर तपेश्वरीबाट ६ जना सशस्त्र वन रक्षक जंगल गस्तीमा निस्किएका थिए। उनीहरू बुलबुले सामुदायिक वनमा गएका थिए। चोरी सिकारी हुने क्षेत्र भएकाले राति गस्तीमा निस्किएका थिए।
त्यो टोलीमा सुनसरी दुहबी घर भएका ६० वर्षीय लेखनाथ बाँस्तोला पनि थिए। उनी सहायक वन रक्षक हुन्। गाडीसहित निस्किएको यो टोलीले बुलबुले सामुदायिक वनमा एउटा भरुवा बन्दुक फेला पारेका थिए।
उदयपुर प्रहरीका अनुसार बेवारिसे भेटिएको उक्त भरुवा बन्दुक गाडीमा हाले। यो टोली राति १० बजेतिर कार्यालय बेलका नगरपालिका-१ आइपुगेको थियो। गेटछेउमा गाडी पार्किङ गरेर रक्षकहरू ओर्लिए। ती रक्षकमध्ये बाँस्तोलाले बेवारिसे भेटिएको भरुवा बन्दुकको नाल समातेका थिए त्यहीँ बेला बन्दुक अचानक पड्कियो।
‘नाल समात्नेवित्तिकै बन्दुक पड्किएको कुरा छ,’ उदयपुरका प्रहरी उपरीक्षक भीमबहादुर दाहालका अनुसार , ‘भरुवा बन्दुक पड्किँदा उनको घटनास्थलमै मृत्यु भएको थियो।’
भरुवा बन्दुकमा लोड गरिएको छर्राले उनको छातिमा चोट लागेको थियो। वनमा कसले बन्दुक छोड्यो र यो घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको दाहालले बताए। भरुवा बन्दुक सुरक्षाका हिसाबले अत्यन्तै जोखिमपूर्ण मानिन्छ। लोड गरेको अवस्थामा कुनै बेला पनि पड्केर मानिसको ज्यान जान सक्छ। सेतोपाटीबाट साभार