महिला ट्राफिक प्रहरीको बर्दी च्यातेको आरोपमा रुपन्देहीको सनसाइन बोर्डिङ स्कुलका सञ्चालक पक्राउ

काठमाडौँ । रुपन्देहीको सिद्धार्थ नगरपालिका -१ को सनसाइन बोर्डिङ स्कुलका सञ्चालक पक्राउ परेका छन्। झापा स्थायी घर भएका श्याम पाठकलाई रुपन्देही प्रहरीले बुधबार पक्राउ गरेको हो।

मादक पदार्थ सेवन गरी महिला ट्राफिक प्रहरीलाई हातपात गरेको, ट्राफिक जरिवानाको रसिद च्यातेको र प्रहरीको बर्दी च्यातेको पाइएपछि पाठकलाई हिरासतमा लिएर कारबाही थालिएको प्रहरीले जनाएको छ।

रोहिणी गाउँपालिकास्थित नेपाल-भारत सीमामा चार दिनअघि पाठकले महिला प्रहरीलाई दुर्व्यवहार गरेको प्रहरी उपरीक्षक प्रवीण पोखरेलले बताए। ‘मदिरा सेवन गरेर महिला ट्राफिक प्रहरीमाथि दुर्व्यवहार गरेको कसुरमा उनलाई केही सार्वजनिक अपराध मुद्दामा कारबाही थालिएको छ,’ पोखरेलले भने।

पाठकले प्रहरीको चेक प्वाइन्टमा आएर ट्राफिक प्रहरीको ठेली खोसेर ‘कति जरिवाना काटेउ’ भनेका थिए। त्यसक्रममा महिला प्रहरीले प्रतिवाद गर्दा ठेली र प्रहरीको बर्दी च्यातिएको पोखरेलले बताए।

पाठकले आफूलाई कहिले प्रधानमन्त्री, कहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मान्छे भन्दै हिँड्ने गरेको प्रहरीले जनाएको छ। पाठकले केही सरकारी वकिललाई समेत फसाएको बताउने गरेका थिए। उनीमाथि यस्ता कुरा गरेर समाजमा हिँड्ने गरेको आरोप रहेछ, पक्राउ परेपछि गुनासो आएका छन्,’ पोखरेलले भने। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार