घान्द्रुक देउरालीको जंगलमा लागेको डढेलो नियन्त्रण बाहिर

म्याग्दी ।म्याग्दी र कास्कीको सिमानामा रहेको पर्यटकीय स्थल घान्द्रुक देउरालीको भिषण डढेलो नियन्त्रणमा म्याग्दीको तर्फबाट समेत टोली खटिएको छ। १२ गते रातीदेखि लागेको डढेलो नियन्त्रण बाहिर गएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुन सहितको टोली डढेलो नियन्त्रणका लागि स्थलगत अवलोकन गरेकाे छ । डढेलो निभाउन गाउँपालिका अध्यक्ष क्याप्टेन गर्बुजा सहित घोरेपानी ,चित्रे र खिबाङबासीले समेत श्रमदान गरेका थिए ।

गाउँपालिकाका अध्यक्ष क्याप्टेन गर्बुजा पुनले एक्यापको टोलीसँग शुक्रबार भेटेर आवश्यक जनशक्ती थप गरी नियन्त्रणको उपाय खोज्न निर्देशन दिनुभएको छ । साथै शनिबार कास्कीले डढेलो निभाउनेछ ।

‘केही दिन अघिदेखी जंगलमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ ,’अध्यक्ष क्याप्टेन गर्बुजा पुनले भन्नुभयो ,‘शुक्रबार म्याग्दीको तर्फबाट आगो निभाउने काम भएको छ भने शनिबार थप जनशक्ती परिचालन गर्न एक्याप टोली लगायतलाई निर्देशन दिएको छु ।’ विश्वकै ठूलो गुराँसको जंगलमा फैलिएको डढेलो घोरेपानी, पुनहिल तथा आसपासका जंगलमा समेत सल्किने जोखिम बढेपछि नियन्त्रणका लागि खटिने टोलीलाई खर्चको ब्यवस्थापन गर्ने अध्यक्ष पुनले बताउनुभयो ।

उहाँले म्याग्दी क्षेत्रमा डढेलो फैलिन नदिन अग्नी रेखा बनाउन समेत स्थानीय बासीलाई अनुरोध गर्नुभएको छ । हावाहुरीका कारण डढेलोले घोरेपानी आसपासका जंगल समेत जोखिममा परेपछि एक्यापका प्रतिनिधि नन्दलाल पाण्डेको नेतृत्वमा थप टोली शनिबारदेखि परिचालन हुने बताइएको छ । घुँवाको मुस्लोले म्याग्दी र कास्की क्षेत्रमा पने हिमश्रृंखला समेत छेकेको छ । चोरीशिकारीका लागि गएका व्यक्तिले मात्र आगो लगाएको हुनसक्ने आंशका गरिएको छ।आगलागी हुँदा वन्यजन्तु, रुखविरुवा नोक्सान हुने उहाँले बताउनुभयो । डडेलोका कारण बन्यजन्तु र पंक्षीको बासस्थानमा असर परेको छ । काठ, दाउरा, घाँस, बोटबिरुवा र जडिबुटि जलेर नष्ट भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार