रजुनमान श्रेष्ठको हत्यामा संलग्न चारजना पक्राउ

काठमाडौं । काठमाडौंको गुहेश्वरी मन्दिर नजिकै वाग्मतीमा शनिवार भेटिएको शवको अनुशन्धान गरिरहेको प्रहरीले नयाँ तथ्य फेला पारेको छ । काठमाडौं–७ घर भएका ४९ वर्षीय रजुनमान श्रेष्ठको शवका बारेमा अनुशन्धान गरिरहेको प्रहरीले हत्यामा संलग्न ४ जनालाई पक्राउ गर्न सफल भएको हो ।

पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउपालिका–३ घर भएका १८ वर्षीय विशाल तामाङ, सन्तोष तामाङ, सन्त कुमार तामाङ र २० वर्षीय लाक्पा तामाङ रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी बरिष्ठ उपरिक्षक अशोक सिंहले जानकारी दिए ।

हत्या आरोपीहरु बौद्धस्थित नयाँ बस्तीमा डेरामा बस्थे । आरोपीहरुमध्ये ३ जनालाई नयाँ बसपार्क र विशाल तामाङलाई नयाँबस्तीबाट नियन्त्रणमा लिएको एसएसपी सिंहले बताए ।

रजुनमान श्रेष्ठ हरेक विहान गाडी सिक्न गुहेश्वरी करिडोरमा जान्थे । हरेक दिन बिहान ३ देखि साढे ३ को बीचमा गाडी लिएर निस्कने उनी फागुन १ मा भने मध्यरात १२ बजेतिर नै मैजुबहालस्थित घरबाट गाडी लिएर निस्किए ।

गुहेश्वरी मन्दिरको पारिपट्टि पुगेपछि गाडी बिग्रियो । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार उनले मिस्त्रीलाई फोन गरेर एकछिन आएर गाडी जाँच गर्दिन आग्रह गरे । तर,मध्यरातमा मिस्त्रीले आउन नमानेपछि नारायणमार्गमा गाडी छाडेर उनी दिव्यश्वरी पार्टी प्यालेसतर्फ लागेका थिए ।

दिव्यश्वरि तर्फबाट फर्किँदा सो करिडोरमा करिब १२ बजेर ४० मिनेट चारजना किशोरसँग जम्काभेट हुन्छ । लाक्पा तामाङसहितका चारजना चावहिलको बेबिलोन डिस्कोबाट निस्केर पैदल हिँड्दै नयाँबस्तीस्थित डेरामा जाँदै थिए ।

चारजना मिलेर रजुनमानलाई आक्रमण गरे । पिटाइबाट गम्भीर घाइते भएपछि रजुनमानलाई छाडेर उनीहरु भागे । रजुनमानको मोवाईल रामेछापको लिखु तामाकोशी गाउपालिका–३ घर भएका १८ वर्षीय विशाल तामाङ्गले लिएर हिँडे ।

आरोपीहरु चार जना नै लिखु तामाकोशी गाउँपालिका–३ का हुन् । ‘मोवाईल लुट्ने नियतले उनीहरुले आक्रमण गरेको देखिन्छ’ एसएसपी अशोक सिंह भन्छन्–‘कुटाइको चोटले हिँड्न नसकेर वाग्मतीमा डुब्दा रजुनमानको मृत्यु भएको अनुसन्धानबाट थाहा भएको छ ।’

अनुसन्धान गर्दै जाँदा प्रहरीले सबैभन्दा पहिल विशाललाई पक्रिएको थियो । विशाल नयाँ बजारस्थित डेरामा भेटिएका थिए । विशालले बयान दिए–‘कुट्ने अरु पनि छन् ।’ विशाल बाहेक अरु ३ जनालाई नयाँ बसपार्कस्थित गेष्ट हाउसमा लुकेर बसेको अवस्थामा महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको हो ।

त्रिवि शिक्षण अस्पतालमा रजुनमानको शव पोष्टमार्टम गरिएको छ । पोष्टमार्टममा ‘डुबेर मृत्यु’ भन्ने रिपोर्ट आएको छ । मृतकको मोवाइल प्रहरीले विशाल तामाङको डेराबाट बरामद गरेको छ । हत्यामा संलग्न आरोपी मध्येका विशाल गाडी चालक हुन् । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार