प्रचण्ड–नेपाल लिखित पत्रसहित निर्वाचन आयोग जाँदै

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्ष लिखित पत्रसहित निर्वाचन आयोग जाने भएको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले पार्टीको पुनः आधिकारिकता दावी गर्दै आयोग जाने निर्णय गरेको हो ।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोगलाई लिखित रुपमा पार्टीको आधिकारिता आफूहरुसँग रहेको भन्दै जानकारी दिन छलफलका लागि जाने निर्णय भएको जानकारी दिए । पार्टीको तर्फबाट कहिले आयोग जाने भन्ने निधो नभएको उनको भनाइ छ । निर्वाचन आयोगसँग छलफल गर्नका लागि समन्वय गर्ने जिम्मेवारी पाएका नेताहरुले त्यसबारे पहल गर्ने प्रवक्ता श्रेष्ठले बताए ।

दल दर्ता र निर्वाचनको कार्यतालिकाबारे छलफल गर्न निर्वाचन आयोगले बोलाएको बैठकमा प्रचण्ड–नेपाल समूह सहभागी भएको थिएन । अध्यक्षहरु पार्टीको काममा व्यस्त रहेको भन्दै माघ १८ गतेपछि छलफलका लागि सहभागी हुने जानकारी दिएका थिए । त्यसैगरी, सोमबार बसेको केन्द्रीय समिति बैठकले केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गरेको छ । महासचिव विष्णु पौडेललाई पदबाट हटाएको छ ।

पार्टी बैठकपछि सञ्चारकर्मीहरुलाई जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले सो जानकारी दिएका हुन् । सोमबार बसेको सो समुहको बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी र पौडेललाई महासचिवबाट हटाउने प्रस्ताव गरेपछि सो निर्णय भएको हो ।

त्यसैगरी महासचिव पौडेललाई जिम्मेवारीबाट हटाउने प्रस्ताव पनि पारित गरेको छ । ओली र पौडेलले पार्टी हित विपरित गतिविधि गरेको भन्दै जिम्मेवारी हटाएको जनाएको छ । पुस ५ मा प्रतिनिधिसभा विघटन गर्ने निर्णय ओलीले लिएपछि नेकपा विभाजित बनेको छ । प्रचण्ड–नेपाल समूहले ओलीले असंवैधानिक कदम चालेको भन्दै त्यसविरुद्ध आन्दोलन गर्दै आएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार