ताप्लेजुङ । गएराति ताप्लेजुङको विभिन्न स्थानमा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । मङ्गलबार दिउँसोदेखि रातभरि हिमपात भएकाले घुन्सा गाउँका स्थनीयवासीको जनजीवन प्रभावित हुन पुगेको स्थानीयवासी पेमा शेर्पाले जानकारी दिए।
शेर्पाले भने, “शुक्रबारदेखि निरन्तर हिमपात भइरहेको छ । अहिले करिब एक फिटसम्म हिउँ जमेको छ ।” सबैतिर सिसाजस्तै हिउँ जमेको शेर्पाले बताए । पानीका मुहान सबै जमेपछि खानेपानीसमेत समस्या परेको उनले बताए ।
चौँरी र गाईवस्तु हिउँ कम पर्ने अलिक औल झारेको फले निवासी लाक्पा भोटियाले बताए । हिजोदेखि अहिलेसम्म निरन्तर हिउँ परेको उनले जानकारी दिए। घुन्सागाउँ समुद्र सतहदेखि तीन हजार ५०० मिटर उचाइमा पर्दछ । यस्तै समुद्र सतहदेखि तीन हजार २०० मिटर उचाइमा ओलाङचुङगोला र समुद्र सतहदेखि चार हजार २०० मिटर उचाइमा याङमा गाउँ पर्दछ ।
यस बस्तीमा शुक्रबार बेलुकीदेखि अहिलेसम्म बाक्लो हिउँ परिरहेको फक्ताङलुङ गाउँपालिका–६ निवासी मनुकुमार राईले बताए । हिमाली क्षेत्रका समुदाय हिमपातले प्रत्यक्ष प्रभावित भएको छ । रासस