बेनी– जोमसोम सडकमा सिधा यातायात सुचारु

म्याग्दी । बेनी–जोमसोम सडकमा ६ दिनपछि सिधा यातायात सेवा सुचारु भएको छ । उत्तरी-दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर  अन्तर्गत  बेनी–जोमसोम–कोरला सडक आयोजनाले चैत १४ गतेदेखि  म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिर र कैकुखोला क्षेत्रमा सडक स्तरोन्नति, बेस बगाउने तथा पहिरोका कारण सवारी साधन चल्न नसक्ने र चलाउँदा पनि अत्यन्तै जोखिमयुक्त हुने भएकाले सम्भावित जोखिम र दुर्घटना रोक्न सवारी आवागमन बन्द गरिएको थियो  ।

गत पुसदेखि निर्माण कम्पनी शर्मा–गजुरमुखी जेभीले पहाड काट्ने काम गर्दै आएकोमा एक साता समयसम्म जिल्ला प्रशासन कार्यालय मुस्ताङबाट अनुमती लिएर विस्फोटक पदार्थ प्रयोग गरि सडक फराकिलो बनाउने काम गरिएको हो ।

भीरमा सडक फराकिलो बनाउन बन्द भएको सडक शुक्रवारदेखि सुचारु भएको आयोजनाका सूचना अधिकारी आश्विनीकुमार यादवले जानकारी दिनुभयो । उहाँका अनुसार, विस्फोटक पदार्थ प्रयोग गरि सडक चौडा बनाउने काम गरिएपनि पुरै भीरको काम सक्न भने केहि महिना लाग्नेछ ।

यस भिरमा एक किलोमिटर ६०० मिटर दूरीमा पहाड काट्नुपर्ने भएकाले सडक चौडा बनाउन लामो समय लाग्ने देखिएको आयोजनाले जनाएको छ । बेनी–सोमसोम खण्डमा सिधा सवारी सुचारु भएसंगै एकसातादेखि बेनी हुँदै जोमसोम र जोमसोम देखि बेनी हुँदै आवत जावत गर्ने पर्खाइमा रहेका यात्रुहरुलाई सहज भएको छ ।               

उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत ७६ किमी लामो बेनी–जोमसोम सडक चार प्याकेजमा स्तरोन्नति भइरहेको छ । करिब  छ अर्ब रुपैयाँ लागतको राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजना विसं २०७४ देखि निमार्ण शुरु भएको हो । एक सय १० किलोमिटर दूरीको जोमसोम–कोरला सडक ग्राभेल गर्ने काम भइरहेको छ । करिडोरका अनुसार जोमसोम–कोरला सडकको सात प्याकेजमध्ये चार प्याकेजको काम निर्माण सकिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार