पोखरामा सय बेडको कोरोना अस्पताल निर्माण शुरु

कास्की । पोखरा महानगरपालिकाले साविकको लेखनाथ नगरपालिकाको भवनमा सय बेडको कोरोना आइसोलेसन अस्पताल निर्माण थालेको छ । महानगरले पोखरा क्षेत्रमा पछिल्लो समयमा कोरोना संक्रमण तीव्ररुपमा वृद्धि भएपछि शिशुवा अस्पतालको मातहत रहने गरी उक्त भवनमा १ सय बेडको कोरोना आइसोलेसन वार्ड निर्माण गर्न लागेको हो ।

आइसोलेसन वार्ड बनाउन महानगरले अक्सिजनको व्यवस्थापन र पाइपलाइनका लागि २५ लाख रुपैंयामा बोलपत्र आव्हान गरेको छ । भवन बाहिरका केही संरचना परिवर्तन गर्न ८ लाख ५० हजार रुपैयाँको अर्को बोलपत्र प्रकाशित गरेको छ । साविक लेखनाथ नगरपालिकाको भवनमा महानगरकै २७ नम्बर वडा कार्यालय बस्दै आएको छ ।

वडा कार्यालयलाई अन्यत्र सारेर महानगरले जेठको दोश्रो हप्ताभित्र संचालन गर्ने गरी निर्माण कार्यलाई अघि बढाएको हो । सय बेड राख्न मिल्ने खालको भवन भएकाले महानगरले तत्काल काम शुरु गरेको स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले जानकारी दिनुभयो । उनले अहिले शिशुवा अस्पताल मातहत रहने गरी कोभिड युनिट संचालन गर्ने र महामारी सकिएपछि अस्पतालकै रुपमा विकास गर्ने गरी कार्य अघि बढाइएको पनि बताउनुभयो ।

कोभिड युनिटमा चिकित्सकको नेतृत्वमा स्वास्थ्यको टिम खडा गरी संक्रमितको उपचारलाई सहज बनाईने शर्माले बताउनुभयो । नयाँ संरचना खडा गरेर अघि बढ्न छोटो समय भएकाले उक्त भवनलाई प्रयोगमा ल्याईएको उहाँले बताउनुभयो । साविक लेखनाथ नगरपालिकाको ३६ रोपनी क्षेत्रफलको उक्त जग्गामा महानगरले यसअघि अस्पताल र विशिष्टीकृत बाल अस्पताल बनाउने निर्णय गरेको थियो ।

कोरोना आइसोलेसन युनिट बन्ने भएपछि वडा कार्यालयले पायक पर्ने ठाँउमा भाडामा घर खोजेको छ । ‘महामारीका बेला आइसोलेसन वार्ड बनाउन आवस्यक भएपछि वडाले प्रयोग गर्दै आएको भवन छाडेर कार्यालय संचालनका लागि भाडाको भवन खोज्दै छौ’वडाध्यक्ष पूर्णकुमार गुरुङ्गले भन्नुभयो ।

गुरुङले महामारीमा जनता बचाउनु ठुलो कुरा भएको बताउँदै उक्त भवनलाई महामारी पछि महानगरले अस्पतालकै रुपमा विकास गर्नु पर्नेमा जोड दिनुभयो । यता कोभिड युनिटलाई स्वास्थ्य सामाग्री सहयोग गर्ने गरी लायन्स क्लब अफ इन्टरनेशनल, डिष्ट्रिक ३२५ वि १ ले आर्थिक संकलन अभियान अघि बढाएको छ । लायन्स डिष्ट्रिकले गण्डकी क्षेत्रका क्लवहरुलाई अभियानमा सहयोग गर्न आव्हान समेत गरेको छ ।डिष्ट्रिकले कोभिड कियर बेडसहित अक्सिजन हाइ फ्लो मेशिनसंगै ५० बेड निर्माणका लागि अभियान चलाएको हो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार