जनकपुर । नेकपा एमालेका पोलिटब्युरो समिति सदस्य योगनारायण यादवको कोरोना संक्रमणको कारण निधन भएको छ । एमाले धनुषाका सह–ईन्चार्ज समेत रहेका यादव मृगौला रोगबाट पीडित हुनुहथ्यो । धनुषाको सबैला नगरपालिका बस्ने यादवको उपचार काठमाडौंस्थित मेडिसिटी हस्पिटलमा हुँदै आएको थियो ।
मृगौला प्रत्यारोपणका लागि उपचाररत रहनुभइका नेता यादवलाई कोरोना संक्रमणका कारण मृगौला प्रत्यारोपण हुन नसकेको एमाले धनुषाका इन्चार्ज रामचन्द्र मण्डलले जानकारी दिनुभयो ।
५७ वर्षीय नेता यादव विगत ४ दिनदेखि उपचार हुँदै आएको थियो । तर आज विहान उहाँको हस्पिटलमै उपचारको क्रममा कोरोना संक्रमणबाट निधन भएको एमाले धनुषाका अध्यक्ष राजकिशोर यादवले बताउनुभयो ।
उहाँको शवलाई नेपाली सेनाले हस्पिटलबाट लगेर दाहसंस्कार गर्नेबारे छलफल भइरहेको अध्यक्ष यादवले बताउनुभयो । नेता योगनारायण यादवका दुई श्रीमती र दुई छोरा छन् ।
उहाँ राजनीतिमा सक्रिय हुनुपूर्व जिल्ला कृषि कार्यालयमा जेटिए पदमा कार्यरत हुनुहुन्थ्यो। सरकारी जागिर छाडेर उहाँ २०५० अघि नै नेकपा एमालेमा सक्रिय हुनुहुन्थ्यो । नेता यादव नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकट हुनुहुन्थ्यो । रातोपाटीबाट